विज्ञहरूले चेतावनी दिएका छन् कि हिमालय क्षेत्रमा ८ दशमलव शून्य वा त्योभन्दा बढी परिमाणको ‘ठूलो हिमालयन भूकम्प’ आउने सम्भावना अत्यन्त बलियो छ । यसले उत्तर भारतमा व्यापक विनाश ल्याउन सक्छ । भारतको ५९ प्रतिशत भूभाग भूकम्पीय रूपमा जोखिममा छ र वैज्ञानिकहरूले भूकम्पबाट सुरक्षित रहने तयारीका बारेमा जोड दिइरहेका छन् ।
भूकम्प टार्न सकिँदैन
हिमालय क्षेत्र एक सक्रिय टेक्टोनिक प्लेट सिमाना हो जहाँ भारती र तिब्बती प्लेटहरू एकआपसमा ठोक्किरहेका छन् । यो घर्षणले ठूलो भूकम्पको सम्भावना बढेको छ । भूकम्प विज्ञानका अमेरिकी विज्ञ रोजर बिल्हाम भन्छन्, ‘भारत हरेक शताब्दी तिब्बतको दक्षिणीछेउ दुई मीटर जति सरिरहेको छ । यो सर्ने प्रक्रिया न त सहज छ, न त निरन्तर । सयौं वर्षसम्म ती प्लेट अड्किएका हुन्छन् अनि एक्कासि धेरै ऊर्जा एकैपटक निस्केर थोरै मिनेटमै ती प्लेट चिप्लिन्छन् । त्यही नै भूकम्प हो ।’ उनी भन्छन्, ‘यो अनिवार्य र अपरिहार्य प्रकृति हो ।’
म्यानमारको हालैको भूकम्प : चेतावनीको संकेत ?
२८ मार्च २०२५ मा म्यानमारमा आएको ७ दशमलव ७ परिमाणको शक्तिशाली भूकम्पले कम्तीमा २ हजार ७ सय १९ जनाको ज्यान लियो र ४ हजार ५ सयभन्दा बढी घाइते भए । यो सागाइङ फल्ट लाइनमा भएको थियो र यसले करिब ३०० परमाणु बम बराबरको ऊर्जा निस्कन सक्ने बताइएको छ । भूकम्पले धेरै संरचना ध्वस्त पा¥यो र जनजीवन तहसनहस बनायो ।
भारतको भूकम्प जोखिम : ५९ प्रतिशत भूभाग उच्च जोखिममा
भारतको हिमाचल प्रदेश, उत्तराखण्ड, विहार, पूर्वोत्तर राज्यहरू जस्तै सिक्किम, असम, त्रिपुरा आदि प्रदेश भूकम्पको उच्च जोखिममा छन् । दिल्ली, कोलकाता, मुम्बईजस्ता ठूला शहर पनि भूकम्पीय सक्रिय क्षेत्रमै पर्छन् । दिल्ली सिस्मिक जोन आईभीमा पर्छ । मार्चमा यहाँ ४ दशमलव शून्य परिमाणको हल्का भूकम्पले राजधानी हल्लाएको थियो । काठमाडौं (नेपाल) को नजिक २०१५ मा आएको ७ दशमलव ८ परिमाणको भूकम्पले ९ हजार जनाभन्दा बढीको ज्यान लिएको थियो । त्यो भूकम्पले उत्तर भारतमा पनि असर पारेको थियो ।
अर्को ‘ठूलो भूकम्प’ कत्तिको विनाशकारी हुन सक्छ ?
हिमालयन क्षेत्रको करीब २ हजार किलोमीटर लामो खण्ड (तीन–चौथाइ भाग) ८ दशमलव २ वा त्योभन्दा माथिको भूकम्पका लागि संवेदनशील छ । यदि यस्तो भूकम्प आयो भने यसले २०१५ को नेपाल भूकम्पको तुलनामा ३ गुणा बढी ऊर्जा निस्कन सक्छ । केही क्षेत्रमा ८ दशमलव ७ परिमाणको भूकम्पसमेत सम्भव छ, जसले आठ गुणा बढी ऊर्जा निकाल्न सक्छ । सम्भावना कम भए पनि ९ दशमलव शून्य परिमाणको भूकम्पको खतरा पनि छ, जुन मध्ययुगीन भारतमा आएको हुन सक्ने अनुमान गरिएको छ । यस्तो भूकम्पको कम्पन पाँच मिनेटसम्म रहन सक्नेछ, जुन कमजोर संरचनाका लागि घातक हुन सक्छ ।
हामी कत्तिको तयार छौं त ?
जापान र चिलीमा निरन्तर भूकम्प गइरहन्छ तर तिनले यस्तो भूकम्पबाट कसरी जोगिन सकिन्छ भन्ने सिकिसकेका छन् । तिनीहरूले कडा निर्माण आचारसंहिता बनाएका छन् । समुदायलाई तालीम दिएका छन् । यिनीहरू निकै तयार देखिन्छन् ।
भूकम्प रोक्न सकिँदैन, तर क्षति कम गर्न सकिन्छ । विज्ञहरूले के सुझाव दिएका छन् कि भवन निर्माण आचारसंहिताको पालना अनिवार्य गरिनुपर्छ पुराना संरचनालाई भूकम्प प्रतिरोधी बनाउन सबलीकरण गर्नुपर्छ । जनतालाई सचेत पार्न र भूकम्पबारे तालिम दिनुपर्छ । आपत्कालीन उद्धार र प्रतिक्रिया प्रणालीहरू बलियो बनाइनुपर्छ । भूकम्प आउनुअघि, भूकम्प जाँदा र त्यसपछि पुनःस्थापनाका लागि तयार रहनुपर्छ । भूकम्पविद् विल्हामका अनुसार भविष्यमा नै हिमालय क्षेत्रमा ठूलो भूकम्प (८ देखि ८ दशमलव ९ रेक्टरसम्मको) अवश्यम्भावी छ । यति ठूलो भूकम्प आउन सक्ने ठाउँ नै हिमालय क्षेत्र हो ।
यो डरलाग्दो भूकम्पले ३ सय मिलियन मानिसलाई प्रभावित पार्नेछ । ठूलो हिमालयन भूकम्पको खतरा वैज्ञानिक रूपमा पुष्टि भइसकेको छ । समय र स्थान भविष्यवाणी गर्न नसकिए पनि तयारीका उपायहरू लिन जरुरी भइसकेको छ । सरकार, नगरपालिका र नागरिकहरू सबै मिलेर यसप्रति गम्भीर हुनु आवश्यक छ ।
- टाइम्स अफ इन्डियाबाट