कृषि प्रधान देश नेपालमा फलफूल तथा उपभोग्य कृषि उपजहरू निरन्तर आयात भइरहेको र यस्ता वस्तुहरूको आयात घट्नुको साटो झन् झन् बढ्दै गएको छ । भौगोलिक अवस्था अनुकूल रहेका खेतीबालीहरूको उत्पादन बढाई आयात प्रतिस्थापन गरी अझ निकासी उन्मुख उत्पादन गर्न योजनाले सम्बोधन गर्नुपर्नेमा तीव्र रूपमा आयात बढ्नु विडम्बनाको विषय हुन पुगेको छ ।
यस लेखमा सम्भवत: नेपालमा सबैभन्दा बढी खपत हुने गरेका फलमध्येको केराको आयात बारेमा तथ्यांक प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
केरामा कार्बोहाइड्रेट, चिनी, भिटामिन, पोटासियम, म्याग्नेसियम, फस्फोरस, क्याल्सियमलगायत मिलरल्स तथा डाइटरी फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसमा भन्सार विभागको आयात तथ्यांकलाई आधार मानिएको छ । यहाँ केरा फल भन्नाले न्यून मात्रामा आयात हुने तरकारीका लागि प्रयोग गरिने केरा बाहेकको एचएस कोड ०८०३९००० अन्तर्गतको फल केरालाई तथ्यांकीय प्रयोजनका लागि लिइएको छ ।
विगत ४ वर्षमा भएको केराको आयात तथ्यांक हेर्दा शुरूका तीन वर्षमा झन्डै स्थिर रूपमा अर्थात रू. १ अर्ब ७१ करोड देखि १ अर्ब ६३ करोडको हाराहारीमा देखिन्छ भने आव २०८०/८१ मा आइपुग्दा रू. २ अर्ब ६५ करोड अर्थात् झन्डै रू. १ अर्बले अकस्मात् रूपमा वृद्धि भएको देखिन्छ । चालू आवको प्रथम ७ महीनामा रू. ९१ करोड मूल्यको केरा आयात भइसकेको छ । विगत ४ वर्षमा भएको केराको आयात परिमाण ५३ हजारदेखि ६४ हजार मेट्रिक टन हाराहारीमा रहेको छ । चालू आवको प्रथम ७ महीनामा मात्र २२ हजार मेट्रिक टन परिमाणमा आयात भएको छ ।
समीक्षा अवधिमा देशगत रूपमा केराको आयात हेर्दा करीब सम्पूर्ण रूपले नै भारतबाट आयात भएको देखिन्छ । विगत ४ वर्षमा केरा आयातबाट प्राप्त भएको राजस्व हेर्दा आव २०७७/७८ मा रू. १५ करोड आयात राजस्व उठेकोमा आव २०८०/८१ मा आइपुग्दा रू. ५२ करोड अर्थात् झन्डै साढे तीन गुना वृद्धि भएको देखिन्छ ।
लेखक तथ्यांकशास्त्री एवं भन्सार विभागका पूर्वकर्मचारी हुन् ।