पोखरा । कास्कीको माछापुच्छे्र–४, लाहानचोक अर्मलाडाडामा ३३ वर्षका भोजबहादुर तामाङ सफल रूपमा कृषि व्यवसाय गरिरहेका छन् । समुद्री सतहबाट १ हजार ७०० मिटरको उचाइमा रहेको लाहाचोकमा १०४ रोपनी जग्गामा तामाङले कृषि व्यवसाय गरिरहेका हुन् । वरपर खासै घर नदेखिने ठाउँमा तामाङले अरूको जग्गा भाडामा लिएर समेत कृषि व्यवसाय गरिरहेका हुन् । उनको व्यवसाय अघि बढाउन लाहाचोक साना किसान कृषि सहकारीले उपलब्ध गराएको ग्रामीण उद्यम कर्जा सहयोगी बन्यो ।
उनले ३२ लाख रुपैयाँ ग्रामीण उद्यम कर्जाका रूपमा उक्त सहकारीबाट लिएका हुन् । जुन कर्जा एसियाली विकास बैंक (एडिबी)ले सरकारमार्फत साना किसान विकास लघुवित्त वित्तीय संस्थालाई उपलब्ध गराएको हो । एडिबीको सहयोगमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सहकारीमार्फत ग्रामीण उद्यम कर्जा प्रवाह गर्दै आएको छ ।
उक्त कर्जाको उपयोग गर्दै तामाङले ग्रामीण घर अग्र्यानिक कृषि तथा पशुपन्छी फर्मको नामबाट १०४ रोपनी जग्गामध्ये ६० प्रतिशत भागमा घाँस उत्पादन र ४० प्रतिशत भागमा तरकारीखेती लगाएका छन् । उनले तरकारीखेतीसँगै बाख्रापालन समेत गरेका छन् । उनका सबै उत्पादन अग्र्यानिक रहेकाले राम्रो बजार पाएको बताउँछन् । बेमौसमी तरकारी उत्पादन हुने भएकाले पनि तामाङले राम्रो आम्दानी गरिरहेका छन् ।
‘जेठदेखि कात्तिकसम्म कामदार लगाएरै खेती गर्छु,’ उनी भन्छन्, ‘यो समयमा दैनिक २ हजारदेखि ३ हजार किलोसम्म तरकारी विक्री हुने गरेको छ, यस वर्ष मात्रै ५० ओटा बाख्रा विक्री गरेँ, अझै ५८ ओटा खोरमै छन् ।’
आफूले नियमित चार जनालाई रोजगारी दिएको गर्वसाथ सुनाउँदै उनले सिजनको तरकारीखेती गर्ने बेला २० जनासम्मलाई रोजगारी दिने गरेको बताए । सबै खर्च कटाएर वार्षिक १८ लाख रुपैयाँसम्म नाफा हुने उनको भनाइ छ । खाडीमा लाखौं कमाउने सपना बोकेर गएर हजारमा कमाइ गर्ने युवालाई उनले मेहनत गरे स्वदेशमै मनग्गे कमाउन सकिने सुझाए । आफ्नो कामलाई सम्मान गर्दै प्रदेश सरकारले २०८० सालको उत्कृष्ट किसानको रूपमा गत असारमा पुरस्कृत गरेको खुशी समेत उनले साटे ।
कृषि व्यवसाय शुरू गनुअघि होटल व्यवसाय गरेका तामाङ त्यसबाट सन्तुष्टि नमिलेपछि वेटरको काम गर्न कुवेत गएका थिए । त्यहाँ निकै खटेर गरेको मेहनतपछिको आम्दानीबाट पनि सन्तुष्ट हुन नसकेपछि उनी १० महीनामै नेपाल फर्किए । विदेशमा खटेजति समय नेपालमै खट्ने हो भने त्यहाँको भन्दा बढी कमाउन सकिने सोचले फर्किएका उनले आफ्ना ज्वाइँले टनेलमा खेती गरेर राम्रो आम्दानी गरिरहेको देखेपछि आफू पनि त्यसमै लाग्ने निर्णय गरे ।
आफ्नी दिदीसँग मिलेर शुरूमा उनले घलेगाउँमा जग्गा भाडा लिएर आठओटा टनेलमा तरकारीखेती थाले । त्यसबेलाको संघर्षबारे सुनाउँदै तामाङले भने, ‘तीजको बेला थियो, मैले दिदीलाई घरमा दर खुवाउन ल्याएँ, उता अरूले तरकारीबारीमा रातभर भैंसी छाडिदिएछन् । विदेशबाट जोगाएर ल्याएको थोरै रकमबाट शुरू गरेको तरकारीखेती नष्ट भयो ।’
त्यसपछि उनले हरेस नखाई त्यसभन्दा केही तलको बस्तीमा २३ ओटा टनेलमा तरकारीखेती शुरू गरे । तरकारीखेतीलाई निरन्तरता दिएका उनलाई इजरायली सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रममा सहभागी हुने मौका मिल्यो । ११ महीनाको उक्त कार्यक्रमबाट उनले कृषि व्यवसायबाट कसरी सफल उद्यमी बन्न सकिन्छ भन्ने सिके । इजरायलबाट फर्केपछि कृषिलाई थप व्यावसायिक बनाउने सोचले प्राविधिक शीप तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)को १८ महीने कक्षा लिएर कृषि प्राविधिक अर्थात् जेटीए समेत उत्तीर्ण गरे । कृषि प्राविधिकको लाइसेन्स प्राप्त गरेपछि कृषि व्यवसाय बढाउन थप उत्साह बढेको उनले सुझाए । बाटो, पानी र बिजुलीबत्तीको सुविधा नभएको अवस्थामा शुरू भएको उनको व्यवसायस्थलमा अहिले कच्ची बाटो पुगेको छ । उनले उत्पादन गरेका कृषि सामग्री अहिले फार्ममै पुगेर व्यापारीले लैजाने गरेका छन् ।
एक श्रीमती, एक छोरी र वृद्ध आमासँगै गाउँमा कृषि पेशामा रमाएका तामाङले छोरीलाई अबको वर्ष बेँसीमै राखेर पढाउने सोचेका छन् । छोरी पढाउन श्रीमतीलाई बेँसी पठाउनुपर्ने भएकाले पोखरामा कृषि संकलन केन्द्र स्थापना गरी थप व्यवसाय विस्तार गर्ने उनको योजना छ ।