मंसिर १५ देखि कीर्तिपुरको त्रिभुवन विश्वविद्यलायस्थित क्रिकेट मैदानमा ८ फ्रेन्चाइज समूहबीच नेपाल प्रियिमर लीग (एनपीएल) खेल भइरहेको छ । स्टार पोर्टस् च्यानलमा समेत प्रत्यक्ष प्रसारण भइरहेको यो प्रतियोगिताले नेपालमा रू. १ अर्बभन्दा माथिको आर्थिक कारोबार गराएको अनुमान छ । फ्रेन्चाइजहरूले खेलाडी किन्नदेखि विभिन्न कम्पनीहरूले कार्यक्रम प्रायोजन गर्न तथा खेलाडीको बसोवासदेखि दर्शकले टिकटका लागि तिर्ने रुपैयाँसम्म हिसाब गर्दा यो खेलले थोरै भए पनि अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने देखिन्छ । नेपालमा पनि क्रिकेटको क्रेज छ र स्तरीय खेलाडी छन् र प्रतियोगिताहरू हुन्छ भन्ने सन्देश दिन एनपीएल निकै उपयोगी हुने देखिन्छ ।
विश्वभरि नै खेलकूदबाट अर्थतन्त्रमा निकै योगदान पुग्ने भएकाले अन्तरराष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्न मुलुकहरूबीच प्रतिस्पर्धा हुन्छ । त्यस्तै अन्य देशका खेलहरू आफ्नो मुलुकमा खेलाउने चलन पनि नभएको होइन । अहिले कीर्तिपुरको मैदानमा खेल भइरहेको छ जसको निर्माण भारतीय खेलका लागि जीटीभीले निर्माण गरेको हो । यो अस्थायी खालको मैदान हो तर नेपालमा अन्य क्रिकेट मैदान यत्तिको नभएकाले यसैमा प्रतियोगिता आयोजना गर्नुपर्ने बाध्यता छ । मैदान पूर्णरूपमा व्यवस्थित नभएकाले दर्शकहरू पर्खाल नाघेर प्याराफिटमा जाने, खेल चलिरहेकै बेला मैदानमा दर्शक पस्ने जस्ता अवाञ्छित गतिविधिसमेत भएका छन् । यी सबै कमजोरी भए पनि नेपालले आयोजना गरेको यो खेल क्रिकेटका लागि निकै दूरगामी हुने देखिन्छ ।
यसो हुनुको मुख्य कारण क्रिकेटका लागि कर्पोरेट क्षेत्रले लगानी गर्नु हो । यसअघि कर्पोरेट क्षेत्रको लगानी फुटबलमा बढी थियो । तर, अहिले क्रिकेटमा पनि बढेको छ । प्रथम हुने समूहलाई १ करोडभन्दा बढी पुरस्कारको व्यवस्था गर्नु भनेको ठूलै उपलब्धि हो । यसले क्रिकेटमा लाग्न थप प्रोत्साहित गर्ने छ भने अहिले खेलिरहेको खेलाडीलाई यसले उत्साह थप्नेछ ।
तर, क्रिकेट मैदानको अभाव अहिले पनि खट्किइरहेको छ । निर्माणाधीन रंगशाला छिटो सम्पन्न गर्न सरकार र सरोकारावालाको ध्यान जानुपर्छ । राम्रो स्टेडियमको प्रचार गर्न सकेको भए अन्य देशको खेलका लागि नेपालमा आकर्षित गर्न सकिन्थ्यो ।
नेपालको हावापानी र मौसम क्रिकेट खेलका लागि सुहाउँदो छ । त्यसैले क्रिकेटका माध्यमबाट खेल पर्यटनको विकासको सम्भावना छ जुन सम्भावनाका बारेमा नेपालमा निकै लामो समयदेखि चर्चा चलेको हो । अहिले एनपीएलले त्यो सम्भावनालाई यथार्थमा परिणत गर्न सक्ने आशा भने जगाएको छ ।
यस्ता खेलकूदले स्थानीय अर्थतन्त्रमा राम्रै प्रभाव पार्न सक्छ । अहिले एनपीएलका कारण ६ ओटा तारे होटलले सानो भए पनि व्यवसाय पाएका छन् । एनपीएलसम्बद्ध एक अधिकारीका अनुसार हरेक होटेलमा २० देखि २५ जनाको समूह बसेको छ । यो बसाइ खेल अवधिभर हुनेछ । कतिपय खेलाडी र प्रशिक्षक भने एकाध दिन बढी पनि बस्न सक्नेछन् । उनीहरूका लागि यो आम्दानीको सानो माध्यम होला तर थोरै भए पनि त्यसले व्यवसायमा सहयोग पुगेको देखिन्छ ।
अन्तरराष्ट्रिय खेल आयोजना गर्नका लागि यस्तो प्रतियोगिताले आधार तयार पारिदिन्छ । त्यस्तै नेपाली क्रिकेटको स्तर र लोकप्रियतालाई पनि चिनाउने काम अहिलेको एनपीएलले गरेको छ । त्यसले पनि अन्य प्रतियोगिताका लागि प्रचारको काम गर्छ । त्यसैले खेल पर्यटनका लागि नेपालले थप काम गर्नु आवश्यक देखिन्छ ।
अहिले राजधानीमा आयोजना गरिएकाले यहाँका होटेलहरूका लागि त्यति ठूलो प्रभाव पार्न नसकेको देखिन्छ तर मोफसलमा यस्ता प्रतियोगिता आयोजना हुँदा स्थानीय अर्थतन्त्रमा राम्रो प्रभाव पार्न सक्ने देखिन्छ । त्यसैले यस्ता कार्यक्रमलाई सरकारले पनि प्रोत्साहन गर्नुपर्छ । यस्ता कार्यक्रमको प्रायोजन आदि गर्ने कम्पनीहरूलाई कर छूटलगायत सुविधा दिएर कर्पोरेट क्षेत्रलाई यसमा लगानी गर्न प्रोत्साहित गर्नु पनि आवश्यक देखिन्छ ।