काठमाडौं । आर्थिक गतिविधिमा कमी आएसँगै ऋण असुली प्रभावित हुँदा बैंकहरूको खराब कर्जा वृद्धि भएको छ ।
वाणिज्य बैंकहरूले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार औसत खराब कर्जा अनुपात ३ दशमलव ५८ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकहरूको खराब कर्जा अनुपात ३ दशमलव शून्य ५ प्रतिशत रहेकोमा शून्य दशमलव ५३ प्रतिशत विन्दुले वृद्धि भएको हो ।
गत आर्थिक वर्ष (आव) मा सातओटा बैंकको खराब कर्जा घट्दा १३ ओटा बैंकको बढेको छ । यसैगरी आठओटा बैंकहरूको खराब कर्जा अनुपात ४ प्रतिशत नाघेको छ ।
गत असार मसान्तसम्ममा सबैभन्दा बढी कुमारी बैंकको खराब कर्जा अनुपात ४ दशमलव ९५ प्रतिशत पुगेको छ । अघिल्लो आवको यसै अवधिमा बैंकको खराब कर्जा ४ दशमलव ९६ प्रतिशत मात्र थियो । यसैगरी सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैंकको शून्य दशमलव ७१ प्रतिशत मात्र छ । यस्तै अघिल्लो आवमा खराब कर्जा शून्य दशमलव ८८ प्रतिशत खराब कर्जा कायम गरेको एन.आई.सी. एशिया बैंकको बढेर ३ दशमलव ४१ प्रतिशत पुगेको छ ।
कोभिड–१९ को महामारी र रूस युक्रेनको तनावका कारण आर्थिक गतिविधि प्रभावित हुँदा बैंकहरूको ऋण असुली पनि घटिरहेको छ । यस्तै बैंक, वित्तीय संस्थाको ऋण नतिर्ने आन्दोलनले पनि बैंकहरूको ऋण असुली प्रभावित भएको छ । आव २०७८/७९ मा बैंकहरूको खराब कर्जा १ दशमलव १० प्रतिशत मात्र थियो ।
बैंकहरूको खराब कर्जामा केही वृद्धि देखिए पनि ठूलो समस्या नभएको नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल बताउँछन् । ‘आर्थिक गतिविधि शिथिल हुँदा खराब कर्जा केही बढेको छ,’ उनले भने, ‘आर्थिक गतिविधि सहज हुनेबित्तिकै यो घट्न थाल्छ ।’ अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) ले भने नेपालमा बैंकहरूको खराब कर्जा अनुपातको तथ्यांकमा प्रश्न गर्दै आएको छ ।
बैंकहरूले कर्जा तिर्नका लागि कर्जा दिएर इभरग्रिनिङ गरेको आशंकामा आईएमएफले गतवर्ष विस्तारित कर्जा सुविधा (ईसीएफ) किस्ता दिनुअघि १० ठूला वाणिज्य बैंकहरूको कर्जा गुणस्तरको लेखापरीक्षण गर्नुपर्ने शर्त राखेको छ । सोही शर्तअनुसार ठूला वाणिज्य बैंकहरूको कर्जाको गुणस्तर लेखापरीक्षण गर्न राष्ट्र बैंकले अडिटर छनोट प्रक्रिया अघि बढाएको छ ।