काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिकालगायत स्थानीय युवा समूह तथा संघ/संस्थाहरूले पुस १७ (२०२५ जनवरी १) देखि उक्त निकुञ्ज क्षेत्रमा हेलिकोप्टर उडाउन प्रतिबन्ध लगाए । त्यसको ४ दिनपछि पुस २१ गते सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकोप्टर सेवा सञ्चालन गर्न अनुमति दियो । तर, खुम्बुक्षेत्रमा भने अझै अवरोध जारी रहेको देखिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले गाउँपालिका क्षेत्रमा हुने अनियन्त्रित हेलिकोप्टर उडान रोक्ने निर्णयलाई निरन्तरता दिएको सूचना जारी गरेको १ सातापछि वायुसेवा प्रदायकहरूको संस्था वायुसेवा सञ्चालक संघ, नेपालले विज्ञप्ति जारी गरेर आउँदो बुधवारसम्म समस्या समाधान नभए सोलुखुम्बु जिल्लाभित्र सम्पूर्ण हवाई सेवा पूर्ण रूपमा स्थगन गर्ने चेतावनी दिएको छ ।
- बुधवारसम्म सुरक्षाको प्रत्याभूतिसहित उडान नभए सोलुखुम्बु जिल्लाभित्र उडान स्थगन गर्ने संघको चेतावनी
- उद्धार, ढुवानी र हिमालको दृश्यावलोकनका लागि उडान नरोकिएको खुम्बु पासाङल्हामु गाउँपालिकाको भनाइ
खुम्बुक्षेत्रमा पुस १७ गतेदेखि हेलिकोप्टर उडान भएको छैन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल भने उद्धार र हिमालको दृश्यावलोकनका लागि हुने उडान नरोकिएको बताउँछन् । गाउँपालिकाले पुस २५ गते जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाल नागरिक उड्डयन प्राधिकरण र सगरमाथा राष्ट्रिय निकुञ्जले गरेको उडान गर्न पाउने निर्णयले यस गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, मध्यवर्ती उपभोक्ता समितिहरू र स्थानीय बासिन्दाको पहलमा हेलिकोप्टर उडानलाई व्यवस्थित गर्न गरिएको पहलकदमीमा तुषारापात भएको छ ।’
गाउँपालिकाका अध्यक्ष मिङ्माछिरी शेर्पाले जारी गरेको सूचनामा भनिएको छ, ‘सगरमाथा राष्ट्रिय निकुञ्जको कदमप्रति हाम्रो घोर आपत्ति रहेको छ ।’ यस्तै, आपत्कालीन उद्धार, मालसामान ढुवानीका लागि हवाई उडान सहज तुल्याउन गाउँपालिकाले पहल गर्दै आएको भन्दै उक्त सूचनामा विभिन्न बहाना देखाएर हेलिकोप्टर उडान स्थगन गर्नु कम्पनीहरूको नाफाकेन्द्रित प्रवृत्ति भएको उल्लेख गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत भुसालका अनुसार बुधवारसम्म उक्त क्षेत्रमा आपत्कालीन उद्धार र ढुवानीका उडानबाहेक अन्य हेलिकोप्टर सेवा रोकिएका छन् ।
संघले बुधवार जारी गरेको विज्ञप्तिमा भने हेलिकोप्टरको आपत्कालीन अवतरण गर्नुपर्ने भएमा पनि अवतरण गर्न सक्ने अवस्था नभएको बताइएको छ । संघका अध्यक्ष मनोज कार्कीले राष्ट्रिय निकुञ्जले हेलिकोप्टर कम्पनीलाई निकुञ्जको वन, वन्यजन्तु तथा जैविक विविधतामा असर नपर्ने गरी उडान गर्न अनुमति दिइसकेको जानकारी दिए । उनको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय निकुञ्ज, नेपाल नागरिक उड्डयन प्राधिकरण र यस संघको अनुरोधसमेतलाई हवाई सेवा सञ्चालन सम्बन्धमा कानूनले प्रत्यायोजन नगरेको अवस्थामा गाउँपालिकाले प्रचलित कानूनको उल्लंघन गरी हेलिकोप्टर सञ्चालनमाथि २५ गते जारी गरेको सूचनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’
खुम्बुको उक्त निर्णयले वायुसेवा कम्पनीलाई ठूलो आर्थिक नोक्सानी पर्न जानुका साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा नकारात्मक असर पर्ने, हिमाल अवलोकन तथा पर्वतारोहणका लागि नेपाल आउने पर्यटकले गन्तव्य परिवर्तन गरेर अन्य मुलुकमा जाने जस्ता जोखिम रहेको संघले औंल्याएको छ । संघले कोभिडपछि व्यवसाय लयमा फर्किन लागेको तर यस्ता गतिविधिले पर्यटन क्षेत्र नै धराशयी हुने र यसलाई रोक्नका लागि उक्त क्षेत्रको उडान निर्बाध रूपमा सञ्चालन गर्न आवश्यक भएको उल्लेख गरेको छ ।
यो विषय सल्टाउन जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले माघ ११ गते समन्वय बैठक डाकेको छ । तर, त्यसको २ दिनअघि माघ ९ गते बुधवारसम्ममा पूर्ण सुरक्षाको प्रत्याभूति गरी समस्या समाधानका लागि संघ तयार रहेको कार्कीले बताए । प्रशासकीय अधिकृत भुसालले हेलिकोप्टर उडानलाई व्यवस्थित गर्न आवश्यक भएकाले यस्तो निर्णय गरिएको जानकारी दिए । ‘बिरामीहरूलाई छाडेर अनेकपटक उडान भए, अहिले उद्धार उडान, ढुवानीका साथै माउन्टेन उडान रोकिएको छैन,’ भुसालले भने, ‘यस्ता उडान भएका छन्, व्यावसायिक उडानका हकमा भने स्थानीय वातावरण बिग्रिएको, अध्ययन/अध्यापनमा समस्या भएको स्थानीयको गुनासो छ ।’
गाउँपालिकाले सोही विज्ञप्तिमार्फत सम्बद्ध सरोकारवाला निकायलाई वार्ता तथा छलफलमा आउन अग्रह गरेको उनले जानकारी दिए । अहिले पनि गाउँपालिका २५ गतेको निर्णयमै अडिग रहेको उनको भनाइ छ । हिमालको दृश्यावलोकनका लागि आवतजावत गर्न मिल्ने उनको भनाइ छ । ‘अहिले व्यावसायिक उडान नगर भनिएको हो,’ भुसालले भने, ‘व्यावसायिक उडान गर्ने कम्पनीलाई पटक–पटक आग्रह गरिँदै आएको छ, यो पदयात्रा गर्ने स्थान भएकाले व्यावसायिक उडान गर्नका लागि बसेर वार्ता, छलफल आवश्यक छ ।’