काठमाडौं । नेपालमा चिनियाँ लसुन आयात अस्वाभाविक रूपले बढेको देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा यसपालि ६९१ प्रतिशतले चिनियाँ लसुन आयात बढेको छ ।
नेपालमा यतिबेला लसुनको ‘अफ सिजन’ भएकाले लसुन आयात बढेको हो । साथै नेपाली व्यापारीले चीनबाट आयात गरी भारतीय बजारमा निर्यात गरिरहेकाले गतवर्षको तुलनामा यसको आयात अस्वाभाविक रूपले बढेको सम्बद्ध अधिकारीहरूले बताएका छन् ।
भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ४ महीनामा ३ अर्ब १३ करोड ७१ लाख ४३ हजार रुपैयाँ बराबरको २३ हजार ८४६ मेट्रिक टन चिनियाँ लसुन आयात भएको छ । यो आयात अघिल्लो आवको सोही अवधिको तुलनामा ६९१ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको उक्त अवधिमा ३९ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको ३ हजार ८९ मेट्रिक टन लसुन चीनबाट आयात भएको थियो ।
कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आचार्यले चीनमा यतिबेला लसुन भित्त्याउने समय भएको र नेपालमा भर्खरै रोपेकाले आयात बढेको बताए ।
‘अहिले चीनमा नयाँ लसुन उत्पादन हुने समय हो । तर, हाम्रोमा चैत/वैशाखतिरमात्रै नयाँ लसुन उत्पादन हुन्छ । त्यसकारण यहाँ आयात बढेको हो,’ उनले भने ।
तरकारी व्यापारीका अनुसार चिनियाँ लसुन नेपाल हुँदै भारत पनि गएकाले आयात बढेको हो । ‘नेपाली व्यापारीले यतिबेला चीनबाट लसुन आयात गरेर भारतमा समेत निर्यात गरिरहेका छन् । भारतमा पनि यतिबेला लसुनको अफ सिजन हो,’ आचार्यले भने ।
समितिका सूचना अधिकारी विनय श्रेष्ठले पनि नेपाली बजारमा भन्दा भारतीय बजारमा यतिबेला लसुनको मूल्य राम्रो हुँदा नेपाली व्यापारीले भारततर्फ लसुन निर्यात गर्न थालेको बताए । सोही कारण अघिल्लो वर्षको तुलनामा यसपालि व्यापक रूपमा आयात बढेको उनको भनाइ छ ।
यद्यपि भन्सारको तथ्यांकअनुसार यस अवधिमा नेपालबाट भारतीय बजारमा लसुन निर्यात भएको देखिएको छैन । त्यसकारण व्यापारीले लसुनको अवैध निकासी गरेको हुन सक्ने अनुमान भन्सार विभागले गरेको छ ।
विभागका सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले कुनै एक देशबाट आयात गरेर अर्को देशमा निर्यात गर्न नमिल्ने भएकाले चोरी निकासीमार्फत मात्रै व्यापारीले लसुन भारत निर्यात गरेको हुन सक्ने बताए ।
नेपाली व्यापारीले भारतसँगको खुला सिमानाको लाभ उठाउँदै अवैध बाटोबाट भारतमा लसुन पठाइरेहेको एक व्यापारीले बताए । उनका अनुसार तुलनात्मक रूपमा नेपाल र भारतमा फल्ने लसुनको दाँजोमा चाइनिज लसुन पोटिलो र ठूलो छ, यसको प्रयोग पनि सहज हुने भएकाले चाइनिज लसुनप्रति भारतीय बजारमा समेत आकर्षण बढ्दो छ ।
कालीमाटी बजारले दैनिक मूल्य सूचीमा सुकेको लसुनको मूल्य समावेश गरेको छैन । तर, समितिले दिएको जानकारीअनुसार प्रतिकिलो लसुनको मूल्य ३०० रुपैयाँभन्दा माथि छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालमा करीब साढे ९ हजार हेक्टर जमीनमा लसुन खेती गरिन्छ । मन्त्रालयका अनुसार आव २०७९/८० मा नेपालमा ९ हजार ५७० हेक्टर जमिनमा ७३ हजार ५७६ मेट्रिक टन लसुन उत्पादन भएको छ ।