विराटनगर। नेपाल उद्योग परिसंघ कोशी प्रदेश र बुढीगंगा गाउँपालिकाबीच औद्योगिक मैत्री वातावरण निर्माण गर्ने उद्देश्यले छलफल भएको छ । छलफलमा स्थानीय कर प्रणाली उद्योगमैत्री बनाउँदै औद्योगिक वातावरण सहज गर्न सहमति समेत भएको छ ।
संघीय संरचनासँगै संघ, प्रदेश र स्थानीय तहबाट उठाइने करका अधिकार र दायरा निर्धारण गरिएका छन् । तर कोशी प्रदेशका केही स्थानीय सरकारले स्थानीय करका नाममा दोहोरो, तेहेरो कर असुल्न थालेको उद्योगीको गुनासो छ । विभिन्न शीर्षकमा कर असुल्न थालेपछि उद्योगले समस्या झेल्नु परेको र त्यसले औद्योगिक वातावरण बिग्रन थालेको उद्योग परिसंघको ठहर छ ।
बुढीगंगा गाउँपालिकाका प्रमुख जीतनारायण थापा र परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडाको नेतृत्वमा छलफल भएको थियो । छलफलमा मोरङ उद्योग व्यापार संघका पदाधिकारी, गाउँपालिकाका प्रतिनिधि, र अन्य सरोकारवालाको उपस्थिति थियो । छलफलमा उद्योगले दोहोरो कर असुलीका कारण उद्योग सञ्चालन गर्न कठिनाई भोग्नुपरेको जानकारी गराइएको थियो ।
बुढीगंगा गाउँपालिकाका प्रमुख थापाले औद्योगिक वातावरण सहज बनाउन उद्योगी र पालिकाबीचको असमझदारी हटाउन सहयोग गर्न तयार रहेको बताए । छलफलमा औद्योगिक कर प्रणाली सुधारका लागि संयुक्त कार्यदल बनाउने निर्णय भएको छ । कार्यदलले आगामी असोज १० भित्र उद्योगमा लागू गरिने करको समीक्षा गरी सुझाव पेश गर्ने बताइएको छ । कार्यदलको संयोजक बुढीगंगा गाउँपालिकाकी उपप्रमुख अमृता कुमारी गच्छदारलाई तोकिएको छ भने सदस्यमा स्थानीय वार्ड अध्यक्ष, उद्योग परिसंघका अध्यक्ष, मोरङ उद्योग व्यापार संघका पदाधिकारी र गाउँपालिकाका कर्मचारी प्रतिनिधि समावेश छन् ।