२०८१ साल वैशाख १६ गते नेपालमा तेस्रो लगानी सम्मेलन भयो जसमा ५५ देशका लगानीकर्ता लगानीको अवसर खोज्न नेपालमा जम्मा भएका थिए । यो सम्मेलनको नाम इमर्जिङ नेपाल लगानी सम्मेलन राखिएको थियो । यसमा विश्वको पहिलो अर्थतन्त्र अमेरिकाबाट ३३ जना, दोस्रो अर्थतन्त्र चीनबाट २६५ जना, तेस्रो अर्थतन्त्र जर्मनी, चौथो अर्थतन्त्र जापानबाट पनि थुप्रै लगानीकर्ता आए । पाँचौं अर्थतन्त्र भारतबाट १४३ जना आएका थिए । बेलायत, बंगलादेश, फ्रान्स साउदी अरब, रूस, इटाली जस्ता देशका लगानीकर्ताको उपस्थिति पनि राम्रै थियो । यसरी संयुक्त राष्ट्रसंघमा भिटो पावर भएका पाँचओटै देशबाट सम्मेलनमा उपस्थिति हुनुले वास्तवमै नेपाल लगानीका लागि इमर्जिङ हब हो भन्ने कुरा प्रमाणित गरेको छ । यसका साथै लगानीमा व्यापकता ल्याउन क्रेडिट रेटिङ पनि आवश्यक छ भन्ने कुरा देखियो । उपस्थिति उत्साहजनक भयो तर लगानी आएन ।
विकास नेपालको चासोको विषय हो भने लगानी र आम्दानी विश्वको चासोको विषय हो । नेपालमा लगानीका पर्यटकीय आधार, सूचनाप्रविधि, जलविद्युत्, हरित क्रान्ति, हरित हाइड्रोजनजस्ता अनेक अवसर विद्यमान छन् । कुनै पनि सम्मेलनले आजको आजै लगानी आएर देश हराभरा हुने होइन, हामीले लगानीका लागि खुला गरेका सोकेशहरू यस्ता छन्, कानूनी रूपमा नेपालले यस्ता छूट तथा सुविधा दिन सक्छ भनेर देशले प्रतिबद्धता पेश गरेको छ । १५२ ओटा परियोजना नेपालले देखाएकोमा जम्मा रू. ९ अर्ब १३ करोडको लगानी सम्झौता भयो, जसमा गोपीकृष्ण सेन्टर कम्प्लेक्सका लागि चिनियाँ तथा भारतीय दुवै देशका लगानीकर्ताले चासो देखाएका छन् । रारामा रिसोर्ट खोल्न अस्ट्रेलियाली एनआरएनसँग सम्झौता भएको छ । नेपाल उद्योग वाणिज्य संघ र इन्डियन इन्डस्ट्रिज एशोसिएशन (आईआईए) बीच सम्झौता भएको छ । यसैगरी नेपालको नेक्सजेन मेनेजमेन्ट प्रालि र चीनको एमएबीसी इन्भेस्टमेन्ट प्रालिबीच पनि सम्झौता भएको छ ।
लगानी सम्मेलनमा संख्याभन्दा लगानीकर्ताको पोर्टफोलियो बढी महङ्खवपूर्ण हुन्छ । भीडभन्दा उपस्थित लगानीकर्ताको गुणवत्ता परीक्षणसहितको सूक्ष्म अध्ययन जनताका अगाडि आएपछि मात्र लगानी सम्मेलनको सफलताको विश्लेषण हुनेछ ।
नेपालमा पहिलो लगानी सम्मेलन २०७३ साल फागुन १९ र २० मा भएको थियो । त्यतिबेला २३ देशका २५७ लगानीकर्तासहित ५०० जनाको सहभागिता भई १३ अर्ब ७० करोड डलरको लगानी प्रतिबद्धता आएको थियो । त्यो सम्मेलनबाट ह्वाङ्सी सिमेन्ट र हुवासिन सिमेन्ट सञ्चालनमा आउनुका साथै अरूण तेस्रो र माथिल्लो मस्र्याङ्दीको काम भइरहेको छ । त्यसैगरी दोस्रो लगानी सम्मेलन २०७५ चैत १५ र १६ मा भएको थियो जसमा ८९ परियोजना सोकेसमा राखिएको थियो । यसमा ४० देशका ७३५ लगानीकर्ताको सहभगिता थियो । १७ ओटा परियोजनामा लगानी प्रतिबद्धता आए पनि कुनै योजना अहिले कार्यान्वयन भइसकेको अवस्था छैन । अहिले पनि प्रतिबद्धता कमजोर छ ।
जसले पनि लगानी नाफामूलक क्षेत्रमा गर्न चाहन्छन् । नाफा हुने नहुने कुरा कम्पनीको आन्तरिक शक्ति र कमजोरीमा मात्र निर्भर हुँदैन । त्यसका लागि चुनौती र अवसर पनि महत्त्वपूर्ण हुन्छ । यस्ता कुराको जानकारी दिन देशले आफ्नो क्रेडिट रेटिङ राम्रो बनाउनुपर्छ । क्रेडिट रेटिङ भनेको लगानी गर्दा त्यहाँ जोखिम तह कति छ भनेर हेर्ने मौद्रिक तथा वित्तीय औजार हो । कुनै संस्था वा देश ऋण दिन र लगानी गर्न कति सुरक्षित छ त्यसको ऋण फिर्ता गर्ने क्षमता कति छ भनी सूचकहरू विश्लेषणका लागि क्रेडिट रेटिङ हेर्ने गरिन्छ ।
दीर्घकालीन, मध्यकालीन र अल्पकालीन लगानीका लागि कुनै देश कति सुरक्षित र जोखिमरहित छ भन्ने जान्न यो औजार प्रयोग हुन्छ । नेपालमा ठूलो प्रत्यक्ष वैदेशिक लगानी नआउनुमा यो पनि एउटा बाधक हो । लगानी बोर्डका अनुसार नेपालमा बितेको १२ वर्षमा १२ खर्ब ५० अर्ब बराबरको वैदेशिक लगानीको प्रतिबद्धता आएकोमा रू. १ खर्ब ३७ अर्ब मात्र लगानी भित्रिएको छ । यसैगरी नेपाल राष्ट्र बैंकका अनुसार सन् २०२२/२३ मा प्रतिबद्धता आएको ३८ अर्बमध्ये ६ अर्ब मात्र लगानी भएको छ । यसको पछाडि नेपालले क्रेडिट रेटिङ प्रकाशित गर्न नसक्नु पनि एउटा कारण हुन सक्ने अनुमान गरिएको छ ।
सधैंं नेपाल अविकसित छ भन्ने मानसिकताबाट सरकार र जनता दुवै माथि उठ्नुपर्छ । चीन, जापान र भारत केही वर्ष अगाडिसम्म हाम्रो भन्दा पनि असहज परिस्थितिबाट उठेका हुन् । नेपाल पनि त्यसरी नै उठ्न सक्छ । त्यसका लागि सामूहिक प्रयास, बहस, छलफल र उद्यमशीलताको उन्नयन जरुरी छ ।
विश्वमा अहिले पुराना र बढी विश्वासिला मानिएका क्रेडिट रेटिङ हेर्ने तीनओटा कम्पनी छन् । ती हुन् : एसएन्डपी, मुडिज र फिच । यसमध्ये नेपालले २०७५/७६ को बजेटमा क्रेडिट रेटिङ गर्ने घोषणा गरी अन्तरराष्ट्रिय रेटिङ कम्पनी फिचलाई जिम्मा दियो तर कोभिडका कारण त्यो स्थगित गरियो । वैदेशिक लगानीमा यस्तो रेटिङले धेरै अर्थ राख्छ । यसमा एएए, एए, ए, बीबीबी, बीबी, बी , सी, डीसम्म रेटिङ दिइन्छ यसमा तीनओटा ए सबैभन्दा राम्रो र डी नराम्रो मानिन्छ । रेटिङ लगानीका लागि एउटा मानक र विशिष्टीकरण दुवै हो । यतातर्फ राज्यले ध्यान दिन जरुरी छ । यद्यपि नकारात्मक रेटिङ आएमा त्यसलाई प्रकाशित नगर्न पनि सकिन्छ ।
स्मरण रहोस्, क्रेडिट रेटिङ गर्ने संस्था नेपाल, भारतलगायत सबै देशमा हुन्छन् । यिनीहरूले देशभित्रका कम्पनीहरूको मात्र रेटिङ गर्छन् भने कुनै देशमा लगानी गर्न उपयुक्त छ छैन भनी हेर्ने संंस्थाहरू तीनओटा प्रमुख हुन् । नेपालको प्रमुख क्रेडिट रेटिङ गर्ने निकाय आईसीआरए हो, जसलाई नेपाल धितोपत्र बोर्डले लाइसेन्स दिएको छ ।
सधैं नेपाल अविकसित छ भन्ने मानसिकताबाट सरकार र जनता दुवै माथि उठ्नुपर्छ । चीन, जापान र भारत केही वर्ष अगाडिसम्म हाम्रो भन्दा पनि असहज परिस्थितिबाट उठेका हुन् । नेपाल पनि त्यसरी नै उठ्न सक्छ । त्यसका लागि सामूहिक प्रयास, बहस, छलफल त आवश्यक छ नै । सबैभन्दा उद्यमशीलताको उन्नयन हुन जरुरी हुन्छ । यहाँनेर पनि क्रेडिट रेटिङ आवश्यक छ । गुणवत्ता प्रत्यक्ष वैदेशिक लगानी विकास रोजगार, निर्यात विस्तारको आधार पक्कै हो । विवाह गर्दा दुलाहादुलहीको सम्पूर्ण जीवनी, सम्पत्ति, परिवार हेरिएझैं
लगानीकर्ताले पनि जोखिमको तह हेरेर मात्र रकम लगाउने हुँदा देशले आफ्नो शाखको क्षमता हेर्नु राम्रो कुरा हो ।
देश विकासका लागि लक्ष्य निर्धारण पनि अति आवश्यक हुन्छ । आगामी ५ वर्षभित्र देशलाई आजको आर्थिक धरातलबाट कुन तहसम्म माथि पुर्याउने भन्ने तहबाट सक्रियता ल्याई अर्थतन्त्रको प्राथमिक क्षेत्र कृषिलाई आधुनिकीकरण गर्ने, द्वितीय क्षेत्र उद्योग निर्माणमा यथोचित ध्यान दिने र तेस्रो तथा सबैभन्दा बढी जीडीपीमा योगदान गर्ने सेवाक्षेत्रलाई समेत लगानी सम्मेलनले छोएकाले, वैदेशिक होस् वा आन्तरिक उद्यमशीलतामा लगानी विस्तार गर्न क्रेडिट रेटिङ देखाउन आवश्यक छ । यदि यो रेटिङमा हाम्रो अवस्था आशाजनक देखिएमा विदेश पलायन भइरहेका युवामा स्वदेशमै केही गर्ने हौसला जाग्न पनि सक्छ ।
नेपाल कुनै न कुनै दिन अति विकसित हुनेछ, त्यो सत्य हो । जति जनाले देश छोडे पनि, जतिले हिम्मत हारे पनि एक दिन देशलाई सबै मिलेर विकासको उचाइमा पुर्याउनैपर्छ । अथवा यस्तो दिन आउँछ यहाँ गरिएको सानो लगानीले देशको मुहार फेर्ने नै छ । त्यस्तो गर्न सूचनाप्रविधि, साहसिक पर्यटनलगायत क्षेत्रमा लगानी गर्नु नै पर्छ । लगानीलाई बढी विश्वासिलो र भरपर्दो बनाउन प्रत्यक्ष वैदेशिक लगानी अझ भरपर्दो माध्यम हो । यसका लागि लगानी सम्मेलनका तीनओटा प्रयास सराहनीय छन् । यसमा अझै विश्वसनीयता बढाउन गर्नुपर्ने काम पनि राज्यका तर्फबाट गर्दै जानु उपयुक्त हुन्छ ।
आजको मितिमा अस्ट्रेलिया, क्यानडा, डेनमार्क, जर्मनी, नेदरल्यान्ड्स, स्वीट्जरल्यान्ड, नर्वे क्रमिक रूपमा २०२३ मा उच्च र राम्रो क्रेडिट रेटिङ भएका देश हुन् । नेपाल पनि यसमा कतै देखिनुपर्छ र मात्र हाम्रा लगानी सम्मेलनले सार्थकता पाउने छ । लगानी सम्मेलनमा संख्याभन्दा लगानीकर्ताको पोर्टफोलियो बढी महत्त्वपूर्ण हुन्छ । भीडभन्दा उपस्थित लगानीकर्ताको गुणवत्ता परीक्षणसहितको सूक्ष्म अध्ययन जनताका अगाडि आएपछि मात्र लगानी सम्मेलनको सफलताको विश्लेषण हुनेछ ।
लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।