काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले फागुन २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडले चैत ५ गते मंगलवार विहान आईपीओ बाँडफाँट कार्यक्रम सम्पन्न गरेको हो ।
मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट कम्पनीको आईपीओ बाँडफाँट गरिएको विक्री प्रबन्धकको भनाई छ । विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओमा १९ लाख ६५ हजार ८११ जनाले २ करोड २७ लाख ३९ हजार ६५० कित्ता आईपीओ खरीदका लागि आवेदन दिएका थिए । जस मध्ये १९ लाख ५५ हजार ६८५ जनाबाट २ करोड २५ लाख ८४ हजार ७७० कित्ताको लागि प्राप्त आवेदन मात्र रितपूर्वक भएको विक्री प्रबन्धकले जानकारी दिएको छ । रितपूर्वक आवेदन दिएका आवेदकहरूलाई बाँडफाँटमा सहभागी गराई भाग्यमानी १ लाख ८४ हजार ५०० जना आवेदकहरूले १० कित्ताका दरले शेयर हात पारेका छन् । कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिएका योग्य आवेदकहरूमध्ये पनि १७ लाख ७१ हजारभन्दा बढीको हात खाली भएको छ ।
यस कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको हो । कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरले हुन आउने २ लाख २५ हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि , ६७ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरी १८ लाख ४५ हजार कित्ता शेयर भने सार्वजनिक निष्कासनमार्फत आम सर्वसाधारणमा विक्री गरिएको थियो । सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको आईपीओ मंगलवार बाँडफाँट गरिएको हो ।
कम्पनीका संस्थापकतर्फबाट चुक्ताभएको पूँजी ५२ करोड ५० लाख रुपैयाँ छ । सर्वसाधारण समेतको शेयर स्वामित्व कायम भएपछि कम्पनीको चुक्तापूँजी ७५ करोड रुपैयाँ कायम भएको छ । आर्थिक वर्ष ०७९/८० सम्मको वास्तविक वित्तीय विवरण अनुसार यो कम्पनी ३९ लाख ५२ हजार रुपैयाँ सञ्चित नाफामा रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ८६ पैसा र प्रतिशेयर आम्दानी ८६ पैसा छ । गत आर्थिक वर्ष ०८०/८१ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चित मुनाफा ८८ करोड ५५ लाख रुपैयाँ रहेको छ । चालू आर्थिक वर्षभित्र भने कम्पनीले २ करोड ६९ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।