व्यवसाय वा लगानीको सबै ब्याजकट्टी गर्न सकिने : कुनै व्यक्तिले ऋणबाट खरीद गरेको कुनै मेशिनरीलगायत अन्य कुनै सम्पत्ति प्रयोग भएको भए पूरै वर्षभरिको ब्याज खर्च कट्टी पाउँछ । ‘व्यवसाय वा ‘लगानीबाट’ भएको आयको गणना गर्ने प्रयोजनका लागि त्यस वर्षमा कुनै सम्पत्ति खरीद गर्न प्रयोग गरिएका ऋण दायित्व वा व्यवसाय वा लगानीबाट आय आर्जन हुने कार्यका लागि सृजना भएको ऋण दायित्वअन्तर्गत उक्त वर्षमा लागेका सबै ब्याज कट्टी गर्न पाइन्छ । तथापि लिएको ऋणको ब्याज व्यवसाय वा लगानीको काममा प्रयोग नगरिएको हदसम्म भने खर्र्च कट्टी पाउँदैन । अर्थात् ‘क’ भन्ने सिमेन्ट उद्योगले सोही उद्योगको प्लान्ट मेशिनरी बिग्रिएको कारण उक्त प्लाट खरीद गर्न ‘ख’ भन्ने बैंकबाट १ करोड रुपैयाँ कर्जा लिएको रहेछ तर पछि उक्त मेशिन सामान्य मर्मत गरी सञ्चालन भएछ । त्यसपछि उद्योगले प्लान्ट खरीद नगरी कर्जाको रकम शेयरबजारमा लगानी गरेको रहेछ । शेयरबजारबाट सोही वर्ष २५ लाख रुपैयाँ आर्जन गरेर कम्पनीको आयमा समावेश पनि गरेको रहेछ । तथापि उद्योगले उक्त १ करोड रुपैयाँ कर्जाबापत तिर्नुपर्ने १० लाख रुपैयाँ बैंकमा ब्याज तिरेको तर उक्त रकम कर्जा प्राप्त गरेको प्रयोजनमा लगानी नभएकोले ‘क’ भन्ने उद्योगले उक्त ब्याज खर्च कट्टी दाबी गर्न पाउँदैन । तथापि बंैकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा ८ बमोजिम कर्जा दुरुपयोग मानिने फौजदारी कसूरमा कैदसमेतको सजाय हुनसक्ने भए पनि कर कानूनले करबाहेक कर्जा दुरुपयोग हुनेतर्फ वास्ता गर्दैन । यस्तै कर्मचारीको तलबलगायत खर्च, उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ खरीद खर्चजस्ता चालू पूँजीका लागि लिएको ऋणको ब्याज पनि कट्टी गर्न पाउँछ । कर्जा प्राप्त गर्ने सिलसिलामा हुने यातायात खर्च, विशेषज्ञको सेवा शुल्कजस्ता खर्चहरू भने कर्जासँग सम्बद्ध खर्च नमानिने भएकाले त्यस्तो रकम ब्याज खर्चमा एकीकृत गर्न मिल्दैन । उदाहरणका लागि ‘अ’ उद्योगले २ करोड रुपैयाँ कर्जा लिएको रहेछ । सोही कर्जा प्राप्त गर्न ‘कर्जा अध्ययन प्रतिवेदन’ तयार गर्न १ लाख र आवतजावत, घरजग्गा रजिस्टे्रशन, धितो मूल्यांकनमा १ लाख रुपैयाँ खर्च भएको रहेछ भने जम्मा कर्जा रकममा २ लाख थप हुँदैन । उक्त २ लाख रुपैयाँ दफा १३ बमोजिम सामान्य खर्चमा समावेश गर्नुपर्छ ।
आर्थिक वर्षको जुनसुकै महीनामा भए पनि पूरै आर्थिक वर्षको हिसाबले ब्याज कट्टी गर्न पाइने : कुनै सम्पत्ति खरीद गर्न ऋण दायित्व सृजना भएकोमा त्यस्तो ऋण आर्थिक वर्षको जुनसुकै महीनामा भए पनि पूरै आर्थिक वर्षको हिसाबले ब्याज कट्टी गर्न पाउँछ । कारखानामा उत्पादनका लागि खरीद गरिएको कुनै मेशिनरी प्रयोगमा आइनसकेको भए त्यसरी खर्च भएको ब्याज पूँजीकरण गरी सम्पत्तिको मूल्यमा समावेश गर्नुपर्छ । मानौं, २०७५/७६ मा छपाइको व्यवसाय गर्ने कम्पनीले छपाइ मेशिनका लागि २ करोड रुपैयाँँ कर्जा लिएको रहेछ । तर, कम्पनीले २०७८/७९ मा मात्र उक्त छपाइ मेशिन खरीद गरेछ भने गतवर्ष बैंकलाई तिरेको ब्याज २० लाख रुपैयाँँ रहेछ भने ब्याज रकम खर्च नभएर मेशिनको पूँजीकरण हुन आउँछ ।
आय आर्जन हुने कार्यका लागि सृजना भएको ब्याज खर्चको दाबी : कुनै आयवर्षमा व्यवसाय वा लगानीबाट भएको आय आर्जन गर्ने प्रयोजनका लागि कुनै व्यक्तिले सो वर्षमा प्रयोग गरेको कुनै सम्पत्ति खरीद गर्दा उत्पन्न ऋण दायित्व वा व्यवसाय तथा लगानीबाट आय आर्जन हुने कार्यका लागि सृजना भएको ऋण दायित्वअन्तर्गत उक्त वर्षमा लागेका सबै ब्याज खर्च कट्टी गर्न पाउँछ । तर, त्यस्तो ऋण व्यवसायको काममा प्रयोग नभएको हदसम्मको ब्याज रकम भने खर्च कट्टी पाउँदैन । ‘ग’ भन्ने चिनी मिलको उखु पेल्ने क्रसर मेशिन आव २०७७/०७८ मा दुर्घटनामा परी नष्ट भएको रहेछ । क्रशिङ गर्न सोही बखत ५ करोड रुपैयाँँ कर्जा लिई अर्को मेशिन खरीद गरेकोमा त्यसबापत लाग्ने सम्पूर्ण ब्याज खर्च चिनी मिलले खर्चकट्टी पाउँछ । यस्तै आव २०७९/८० सम्म पनि उक्त कर्जा चुक्ता भर्ई नसकेको भए पनि मेशिन खरीद गर्नका लागि लिएको ऋणबापतको ब्याज कट्टी गर्न पाउँछ । ब्याज खर्चको पूँजीकरण : मानौं ‘अ’ भन्ने आइरन कम्पनीले ३ वर्ष अगाडि मेशिन खरीद गर्न बैंकबाट ५ करोड रुपैयाँ कर्जा लिएको रहेछ । आव २०८०/८१ सम्म उक्त मेशिन विभिन्न कारणले उत्पादनको काममा प्रयोगमा ल्याउन नसकेको रहेछ । यस्तो अवस्थामा उक्त मेशिनको ब्याजबापत रू. २० लाख बैंकलाई तिरेको रकम मेशिनको परल मूल्य ५ करोडमा थप २० लाख पूँजीकरण गरी सम्पत्तिको मूल्यमा समावेश गर्नुपर्छ । तर, मेशिन उत्पादनको काममा आइसकेको अवस्थामा भने सम्पूर्ण ब्याज खर्च कट्टी गर्न पाउँछ ।
ब्याज खर्च नियन्त्रणको सीमा : ब्याज भुक्तानी गर्दा कर प्रयोजनमा त्यस्तो सबै ब्याज खर्चलाई मान्यता दिइँदैन । यदि ब्याज खर्च देखाउने करदाता कर छूट पाउने निकायद्वारा नियन्त्रित रहेछ भने त्यस्तो अवस्थामा सबै ब्याज खर्च कट्टी गर्न पाइँदैन । माथि उल्लिखित व्यक्तिलाई गरिएको ब्याज भुक्तानीको कर प्रयोजनमा समायोजित करयोग्य आयको पचास प्रतिशत मात्र कट्टी गर्न पाउने व्यवस्था छ । सामान आयात गर्दाको टीआर लोनको ब्याज : ‘आयकर ऐन, २०५८ को दफा १४ ले ब्याज रकम खर्च गर्नुपर्ने व्यवस्था गरेको देखिँदा टीआर लोनको ब्याजलाई सो बमोजिम ब्याज खर्च मानी खर्च दाबी गर्नुपर्ने’ भन्ने मिति २०६६/२/२१ मा विभागबाट परिपत्र जारी भएको छ ।पूँजी अनुपातमा ऋण ज्यादा हुँदा मुनाफा कम देखिने : महालेखाको प्रतिवेदनमा ‘ ... ऋणको अंश शेयर पूँजीभन्दा ३९७ गुणासम्म बढी रहेको देखियो । आयकर ऐन, २०५८ को दफा १४ अनुसार ऋणमा लागेको ब्याज खर्च कट्टी गर्न पाइने हुँदा करदाता शेयर पूँजीभन्दा ऋणतर्फ बढी आकर्षित भर्ई पूँजी परिचालन गर्ने स्रोतको दुई विकल्पमध्ये ऋण पूँजी छनोट गरी ब्याज खर्चको मात्रा बढाउने र नाफा घटी देखाई कर दायित्व कम गर्ने स्थिति रहन्छ । ‘...ऋण पूँजीको अनुपात निर्धारण गर्ने कानूनी व्यवस्था नहुँदा यसले कर दायित्वमा समेत प्रत्यक्ष प्रभाव पारेको छ । तसर्थ कानूनको अभावमा करदाताहरूले अस्वाभाविक ढङ्गले ऋण लिई ब्याज खर्च दाबी गर्ने अवस्था देखिँदा ऋण पूँजी अनुपात निर्धारण गर्न कानूनी व्यवस्था हुन जरुरी देखिन्छ’ भन्ने विषय कम्पनी ऐन र बैंकिङ कसूर तथा सजाय ऐनअन्तर्गत पर्नेमा महालेखाले निरर्थक रूपमा करको सवाल भनी अथ्र्याउन खोजेको देखिन्छ ।
नवराज भण्डारीविरुद्ध राजकुमार गोल्छाको मुद्दामा ‘जुन आर्थिक वर्षमा ऋण लिएको हो उक्त ऋण सोही आर्थिक वर्षमा प्रयोग भएको वा उक्त वर्षमा प्रयोग भएका कुनै सम्पत्ति खरीद गर्न प्रयोग गरेको हुनुपर्ने र प्राप्त गरिएको ऋण वा यसको दायित्व आफ्नो व्यवसाय सञ्चालन गर्न वा आय आर्जन गर्ने काममा मात्र प्रयोग भएको हुनुपर्छ । कुनै ऋणको रकम व्यवसाय सञ्चालन गर्ने काममा प्रयोग नभएको वा आय आर्जन गर्ने काममा प्रयोग नभएको अवस्थामा यस्तो ऋणमा तिरेको वा तिर्नुपर्ने ब्याज रकमलाई आय गणना गर्दा खर्च कट्टा गर्न नपाउने अर्थात् आफूले ऋण लिने ब्याज खर्च दाबी गर्ने तर अन्य कुनै व्यक्तिलाई ब्याज लिई वा नलिई जुनसुकै शर्तमा सापटी वा ऋण दिएको अवस्थामा यस्तो व्यक्तिले प्राप्त गरेको ऋणको रकम पूर्ण रूपमा आफ्नो व्यवसाय सञ्चालन गर्ने वा आय आर्जन गर्ने कार्यमा प्रयोग भएको मान्न नसकिने । यस्तै ऋण लिने करदाताले अन्य कुनै व्यक्ति वा फर्मलाई अधिविकर्ष सुविधा वा उधारोमा सामान विक्री गरेको वा उधारो विक्री दिएको अवस्थामा पनि लागू हुने’ भनी सर्वोच्चबाट नजीर कायम भएको छ । ‘यसले ऋण लिने र उक्त ऋणमा तिरेको ब्याजलाई खर्चमा कट्टी गर्ने तर त्यसरी ऋण लिने करदाताले अन्य व्यक्तिलाई दिएको सापटी वा ऋणको रकममा लाग्ने ब्याज आयमा समावेश नगर्ने वा निब्र्याजी सापटी दिएको रकमलाई जम्मा ऋण रकमबाट नघटाउने हो भने ब्याज खर्चकट्टीको कानूनी व्यवस्थाको दुरुपयोग हुन सक्ने’ अवस्थालाई निस्तेज गरिदिएको छ ।
यस्तै एभरेष्ट बैङ्क वि.आ.रा. विभाग भएको मुद्दामा ‘प्रिफरेन्स शेयर र त्यसको लाभांशलाई ऋण र ब्याजसरह मान्न र व्यवहार गर्न नमिल्ने,’ ठूला करदाता कार्यालय वि. नेपाल टोवा क. को मुद्दामा ‘व्यवसाय वा लगानीबाट आय आर्जन हुने कार्यका लागि सृजना भएको ऋण दायित्वबापत उक्त वर्षमा लागेको सबै ब्याज कट्टी गर्न पाउने’, राजभाई शाक्य वि. सीताराम अग्रवालको मुद्दामा ‘आय आर्जनसँग असम्बद्ध ब्याज खर्च मिनाहा दिन नमिल्ने’, खुमराज पुञ्जाली वि. प्राइम इन्टर नेशनल प्रा.लि. को मुद्दामा ‘तिर्नुपर्ने रकमको ब्याज तिरेको भनी आयबाट कट्टा गरेको तर लिनुपर्ने रकम लामो समयसम्म असुल नगर्दा कर दायित्व कम गरेको देखिने’ फैसलाहरू भएका छन् । कुनै कम्पनी लिक्वीडेशनमा गई आय आर्जन हुन नसक्ने अवस्थामा सम्पत्ति विक्री हुनुअगावै कुनै दायित्व भुक्तान गर्नुपर्ने भई त्यस्ता दायित्व फरफारकबापत सम्पत्तिले खामेसम्मका लागि लिइएका अल्पकालीन ऋणबापतका ब्याज खर्च आय आर्जनमा नपर्ने भएकाले खर्चकट्टी दाबी गर्न सकिने वा नसकिने भन्ने विवाद अदालतसम्म पुगिनसकेकाले यसमा यही हुन्छ भन्न सक्ने स्थिति देखिँदैन ।
लेखक कर तथा वाणिज्य कानून क्षेत्रमा विज्ञ अधिवक्ता हुन् ।