काठमाडौं । आर्थिक वर्ष (आव) २०८०/८१ मा मुख्य कृषि उपजको आयातनिर्यात दुवै घटेको तथ्यांक सरकारले सार्वजनिक गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आव २०७९/८० को तुलनामा २०८०/८१ मा मुख्य कृषि उपजको आयात करीब २० प्रतिशत र निर्यात करीब ३२ प्रतिशतले घटेको हो । निर्यातको तुलनामा आयात अत्यधिक छ ।
मन्त्रालयको तथ्यांकअनुसार आव २०७९/८० मा २ खर्ब ५५ अर्ब ६४ करोड १८ लाख रुपैयाँको कृषि उपज आयात भएको थियो । आव २०८०/८१ मा आयात घटेर २ खर्ब ४ अर्ब १२ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ । त्यसैगरी आव २०७९/८० मा ५९ अर्ब ५४ करोड ३९ लाख रुपैयाँको कृषि उपज नेपालबाट निर्यात भएकोमा आव २०८०/८१ मा ४० अर्ब ५९ करोड ४१ लाख रुपैयाँको मात्रै निर्यात भएको छ ।
विगतमा व्यवसायीले ब्राजिल, अर्जेन्टिना, इन्डोनेशियालगायत मुलुकबाट पाम, भटमास र सूर्यमुखीको अप्रशोधित आयात गर्ने र त्यसलाई प्रशोधन गरी भारत निर्यात गर्दा नेपालको निर्यात अवस्था राम्रो देखिने गरेको मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशीले बताए ।
खाद्य वस्तुको मूल्य नियन्त्रण गर्ने उद्देश्यले भारतले सन् २०२३ को मार्च अन्तिमदेखि अप्रशोधित पाम, भटमास र सूर्यमुखी तेल आयातमा भन्सार महशुल शून्य गर्यो । त्यसपछि भारतले धेरै भन्सार लगाएको मौकाको फाइदा उठाउँदै तेस्रो देशबाट यी वस्तु ल्याई प्रशोधन गरेर भारत निर्यात गर्ने बाटो लगभग बन्द जस्तै भयो । त्यसको असर कृषि वस्तु आयात निर्यातमा देखिएको जोशीले बताए ।
अघिल्लो आव २०७९/८० मा नेपालले २० अर्ब ५० करोड ९१ लाख रुपैयाँको ९७ हजार ९९० मेट्रिक टन पाम तेल निर्यात गरेको थियो । तर, आव २०८०/८१ मा यो वस्तु ६ अर्ब ३३ करोड ६४ लाख रुपैयाँको ४४ हजार ९६७ मेट्रिक टन मात्रै निर्यात भएको तथ्यांक मन्त्रालयको छ । मन्त्रालयको तथ्यांकमा आव २०८०/८१ मा पाम तेल आयात भएको देखिँदैन ।
तथ्यांकअनुसार कृषि उपजमा धान/चामलको आयात सबैभन्दा धेरै छ । आव २०७९/८० मा ३५ अर्ब ९० करोड ६८ लाख रुपैयाँको ७ लाख ८९ हजार ८४८ मेट्रिक टन धान/चामल आयात गरेको नेपालले आव २०८०/८१ मा २१ अर्ब ३४ करोड ४३ लाख रुपैयाँको ४ लाख ७ हजार ७३५ मेट्रिक टन मात्रै आयात गरेको छ ।
धान/चामलपछि सबैभन्दा बढी आयात हुने वस्तु मकै हो । यसको आयात पनि घटेको छ । अघिल्लो आवमा १६ अर्ब ५० करोड ४९ लाख रुपैयाँको ४ लाख ३५ हजार २७० मेट्रिक टन मकै आयात भएकोमा आव २०८०/८१ मा १४ अर्ब ६ करोड ५३ लाख रुपैयाँको ३ लाख ५० हजार १०० मेट्रिक टन आयात भएको छ ।
यस अवधिमा फलफूल र गहुँ आयात भने बढेको छ । अघिल्लो आवमा १६ अर्ब १४ करोड ७६ लाख रुपैयाँको फलफूल आयात भएकोमा आव २०८०/८१ मा १९ अर्ब ५४ करोड २५ लाख रुपैयाँको आयात भएको छ । गहुँ आयात पनि २८ करोड ९ लाख रुपैयाँबाट बढेर २ अर्ब ७३ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।
पछिल्लो समय नेपालीको खाने बानीमा आएको परिवर्तनका कारण फलफूल आयात बढेको कृषि अर्थविज्ञ जोशी बताउँछन् । उनका अनुसार पछिल्लो समय उच्च घरानाका मानिसले बेलुकाको खानामा फलफूल समावेश गर्नाले यसको आयात बढेको हो । नेपाल जीवनस्तर सर्वेक्षणले गरेको एक अध्ययनअनुसार पनि नेपालीहरूको खाद्यान्न उपभोग प्रवृत्ति अन्नबाट विस्तारै फलफूल र माछामासुतर्फ बढी केन्द्रित भएको देखाएको छ ।
यसअघि गतवर्ष लसुन, प्याज र आलुमा सरकारले लगाएको भ्याटका कारण यी वस्तुको आयात स्वाट्टै घटेको देखिएको छ । यस अवधिमा आलु आयात अघिल्लो वर्षको ७ अर्ब ८१ करोड ४९ लाख रुपैयाँबाट घटेर ६ अर्ब ४५ करोड ८७ लाख रुपैयाँमा झरेको छ । त्यसैगरी लसुन र प्याज पनि अघिल्लो वर्षको ७ अर्ब ९८ करोड ९ लाख रुपैयाँबाट घटेर आव २०८०/८१ मा ४ अर्ब ४६ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ ।
निर्याततर्फ भने आव २०७९/८० मा नेपालबाट ८ अर्ब २७ करोड ६८ लाख रुपैयाँको ९ हजार ९१९ मेट्रिक टन अलैंची निर्यात भएकोमा आव २०८०/८१ मा घटेर ७ अर्ब ९४ करोड ९ लाख रुपैयाँको ५ हजार १८ मेट्रिक टन मात्रै निर्यात भएको छ । अदुवा निर्यात पनि १ अर्ब २२ करोड २२ लाख रुपैयाँबाट घटेर १ अर्ब १७ करोड ६१ लख रुपैयाँमा सीमित भएको छ ।