कश्मीर हमला प्रकरण : पाकिस्तानलाई दोष लगाउँदै भारतले गर्‍यो सिन्धु जल सम्झौता निलम्बन, के गर्ला पाकिस्तान ?

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधवार बसेको विशेष मन्त्रिपरिषद बैठक। तस्वीर : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको एक्स अकाउन्टबाट ।

Share News

काठमाडौं । भारतअधिन कश्मीरमा गत मंगलवार भएको आतंकवादी हमलामा पाकिस्तानलाई दोष लगाउँदै भारतले सिन्धु जल सम्झौता निलम्बन गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधवार बसेको विशेष मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।  

कश्मीरको पहलगाममा पर्यटकहरूमाथि अन्धाधुन्ध गोली चलाइँदा २६ जनाको मृत्यु भएको थियो । उक्त घटनामा १७ जना घाइते भएका छन् ।

भारतका विदेश सचिव विक्रम मिस्रीले बुधवार अबेर पत्रकार सम्मेलनमा उक्त आक्रमणको ‘सीमापार सम्बन्ध’ रहेको भन्दै पाकिस्तानविरुद्ध निर्णय गरिएको बताए । तर, भारत सरकारले यसबारे कुनै प्रमाण सार्वजनिक गरेको छैन ।

पाकिस्तानले भने भारतको कदमको विस्तृत प्रतिक्रिया बिहीवार दिने बताएको छ। पाकिस्तानी रक्षा मन्त्री ख्वाजा मोहम्मदले भारतले ‘आतंकको एक दुर्भाग्यपूर्ण घटनालाई’ बहाना बनाएर सम्झौता तोड्न खोजेको आरोप लगाए ।

भारतले कश्मीरमा भइरहेको विद्रोहलाई पाकिस्तान–प्रेरित आतंकवादको संज्ञा दिएको छ । पाकिस्तान यसलाई अस्वीकार गरेको छ । धेरैजसो मुस्लिम कश्मीरीहरूले यसलाई स्वदेशी स्वतन्त्रता संग्रामको भाग ठान्छन् ।

पाकिस्तानले विश्वसनीय तरिकाले सीमापार आतंकवादप्रति समर्थन नत्यागेसम्म सिन्धु जल सम्झौता स्थगन रहिरहने मिश्रीले बताए । 

भारतले नयाँ दिल्लीस्थित पाकिस्तानी कूटनीतिज्ञहरूलाई देश छोड्न भनेको छ । यस्तै, आफ्ना कूटनीतिज्ञहरूलाई पाकिस्तानबाट फिर्ता बोलाएको छ । भारत–पाकिस्तान मुख्य स्थलीय सीमा नाका पनि बन्द गरिने घोषणा गरिएको छ ।

पाकिस्तानका विदेश मन्त्री इस्हाक डारले प्रधानमन्त्री शहबाज शरीफको अध्यक्षतामा बिहीबार हुने उच्चस्तरीय बैठकपछि भारतको निर्णयमा प्रतिक्रिया दिने बताएका छन् ।

सिन्धु जल सम्झौता विश्व बैंकको मध्यस्थतामा सन् १९६० मा भएको हो । उक्त सम्झौताले भारत र पाकिस्तानबीच जल संसाधन बाँडफाँट गरिएको छ । 

आक्रमणकारीको खोजी शुरु

भारतले बुधवारदेखि आक्रमणकारीको खोजी थालेको छ । हजारौं प्रहरी र सैनिकहरूले क्षेत्रभर घेराबन्दी गरेका छन् ।

गाडीहरू जाँच, हेलिकप्टर प्रयोग गरी पहाडी जंगलहरूमा खोजी र कतिपय क्षेत्रमा पुराना विद्रोहीहरूलाई सोधपुछका लागि प्रहरी चौकीमा बोलाइएको छ । घटनाको विरोधमा कश्मीरमा धेरै पसल र व्यवसाय बन्द गरिएका छन् ।

प्रहरीले घटनालाई ‘आतंकवादी हमला’ भनेको छ । रक्षामन्त्री राजनाथ सिंहले आक्रमण गर्ने र योजना बनाउने सबैलाई खोजेर कारबाही गरिने बताएका छन् ।

‘कश्मीर रेजिस्टेन्स’ नामक समूहले सामाजिक सञ्जालमार्फत आक्रमणको जिम्मेवारी लिएको छ । उक्त समूहले ती पर्यटकहरू सामान्य नभएर भारतको सुरक्षा निकायसँग सम्बन्धित रहेको दाबी गरेको छ । यद्यपि यी दावीहरू स्वतन्त्र रूपमा पुष्टि भएका छैनन् ।

यसअघि, स्थानीय सरकारले कश्मीरमा पछिल्लो दुई वर्षमा ८३,७४२ भारतीयहरूले जग्गा खरीद गर्न पाएको जानकारी दिएको थियो ।

मारिनेहरूमध्ये धेरैजसो पर्यटक थिए । मरेका मध्ये २४ जना भारतीय पर्यटक थिए, एक जना नेपालका थिए र अर्का स्थानीय गाइड थिए । 

पाकिस्तानले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

सन् २०१९ मा भारतले कश्मीरको अर्ध–स्वायत्तता हटाएपछि यहाँ हिन्दू र अन्य बाहिरी कामदारहरूलाई लक्षित गर्दै लगातार आक्रमणहरू हुँदै आएका छन् । रासस/एपी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।