काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को आठ महीनाको तथ्यांक अनुसार कुल विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि भएको छ । भने, पछिल्लो आठ महीनाको आयातलाई आधार मान्दा उक्त सञ्चितिले १४. ८ महीनाको वस्तु आयात र १२.४ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ ।
२०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि भई २०८० फागुन मसान्तमा रु.१८७२ अर्ब ८२ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० फागुन मसान्तमा २०.८ प्रतिशतले वृद्धि भई १४ अर्ब १४ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु.१३४५ अर्ब ७८ करोड रहेकोमा २०८० फागुन मसान्तमा २२.२ प्रतिशतले वृद्धि भई रु.१६४४ अर्ब ६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु.१९३ अर्ब ५९ करोड रहेकोमा २०८० फागुन मसान्तमा १८.२ प्रतिशतले वृद्धि भई रु. २२८ अर्ब ७६ करोड कायम भएको छ । २०८० फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ ।