काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले विवाद समाधान गर्न गठन भएको लाल आयोगनै सेटिङमा बनेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै पोखरेलले अन्य माननीयहरूले १६ अर्ब रकम छूट दिने काम कसरी भयो भन्दै प्रश्न गर्ने गरेको बताए । उनले व्यवसायी, समिति र सरकारका बीचमा बहस भएरै सेटिङमा छूट दिइएको आरोप लगाए ।
'व्यवसायीको तर्फबाट सामूहिक प्रस्तुति जो जसले गर्नुभयो त्यो र लाल आयोगको भाषा पनि, शब्द पनि, शैली पनि जस्ताको तस्तै कसरी मिल्छ ? उनले भने, 'त्यसैले माननीयज्यूहरूले भन्नुहुन्छ( प्राधिकरण, सरकार र व्यवसायीको सेटिङमा आयोग निर्माण भयो र त्यसले १६ अर्ब छूट दियो।'
उनले डेडिकेटेड फिडर लाइनमा महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएपछि लेखा समितिले छलफल गरेको बताए । महालेखाले यो विवादमा २१ अर्ब रुपैयाँ बक्यौता असुल हुनुपर्ने भनेको तर पछि ६ अर्ब किन भनियो ? यो बिचको बाँकी रकम कहाँ गयो रु,’ उनले लेखा समितिमाथि नै शंका गर्दै प्रश्न गरे ।
झन्डै २३ मिनेट समय लिएर बोलेका पोखरेलले लेखा समितिले बेरुजुबारे छलफल गर्न पाउने अधिकारअन्तर्गत नै छलफल गरेको भन्दै त्यसमा आफ्नो व्यक्तिगत स्वार्थ केही नभएको बताएका थिए । २२ अर्ब नै उठाउनुपर्छ भन्दा आफूलाई नै भ्रष्ट भनिएको भन्दै उनले प्रश्न गरे, ‘२२ अर्ब नै उठाउनुपर्छ भन्ने सभापति भ्रष्ट, अनि १६ अर्ब छूट दिने चोखो कसरी हुन्छ ?