कोभिड–१९ को महामारीले समग्र विश्व नै आक्रान्त बनेको छ । आर्थिक गतिविधि ठप्पप्रायः छ । उद्योग, कलकारखाना, सेवा व्यवसाय, कृषि व्यवसाय तथा अन्य क्षेत्र गतिहीन भएका छन् । आज ग्रामीण विपन्न वर्ग र साना किसान समुदायलाई जीवन धान्न नै नसक्ने गरी प्रभाव पारेको छ । । लघुवित्त सेवा प्रवाह गर्ने लघुवित्त संस्थाहरूले ग्रामीण दूरदराजमा रहेका विपन्न परिवारलाई थोरैमात्र भए पनि वित्तीय पहुँचको सेवा प्रदान गर्दै आएका छन् । तर, आर्थिक औजारका रूपमा विपन्न वर्गमा केही न केही आर्थिक क्रियाकलापमा पहुँच राख्ने लघुवित्त वित्तीय संस्थाहरूको ढोका बन्दप्रायः छ । लघुवित्त संस्थाहरूमा आधुनिक सूचनाप्रविधि नभएकै कारण आफ्ना सदस्यहरूलाई यस विषम परिस्थितिमा सेवा दिन सक्षम देखिँदैनन् ।
लकडाउनका कारण सदस्यको कर्जा भुक्तानी गर्ने क्षमतामा ह्रास आउनेछ । यसबाट वित्तीय संस्थाहरूको कर्जामा अझ जोखिम थपिनेछ ।
यसअघि नै लघुवित्त संस्थाहरूबाट दोहोरो ग्राहक बनाई कर्जा लगानी भएको छ । अधिक कर्जा भार, शहरोन्मुख केन्द्रित सञ्जाल विस्तार, जसरी पनि नाफा कमाउने प्रवृत्तिबाट लघुकर्जामा विकृति बढेको अवस्था छ । मासिक बैठकको व्यवस्था, बैठकबाट बचत संकलन, ससानो कर्जा लगानी/असुलीको व्यवस्था अथवा घरदैलो सेवाप्रवाह लघुवित्तको मौलिकता हो । समूहमा आधारित सेवालाई कोरोना संक्रमणले ढोका बन्द गरिदिएको अवस्था छ । यस अवस्थामा संस्थाका क्रियाकलाप सञ्चालन हुने कुरै रहेन । समूह सञ्चालन नै नहुने अवस्था आएमा सामूहिक भावनामा विचलन आउन सक्छ । लघुवित्त संस्थाहरूको उद्देश्य मुख्य रूपमा सदस्यहरूलाई वित्तीय सेवा दिनु नै हो । बैंक तथा वित्तीय संस्थाहरूको जस्तो अन्य गैरबैंकिङ व्यवसाय यसमा हुँदैन, भए पनि अत्यन्त सानो आकारमा होला । यस मानेमा लघुवित्त संस्थाहरूको आम्दानीको मुख्यस्रोत कर्जाबाट हुने ब्याज नै हो । कोरोना प्रभावबाट कर्जाको ब्याज आम्दानीमा संकुचन आइसकेको छ । यसबाट राष्ट्रलाई बुझाउने संस्थागत कर र संस्थालाई दिगो बनाउने विविध कोषहरूमा जाने रकममा ह्रास आउनेछ । संस्थाको दिगोपनामा समेत प्रभाव पर्ने देखिन्छ ।
लघुवित्त संस्थाहरूको खर्च अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा अधिक हुन्छ । कोरोना प्रभावकै कारणले हालको कुनै सैद्धान्तिक निर्णय नभएमा सञ्चालन खर्चमा कटौती हुने अवस्था देखिँदैन । खास गरी कर्मचारी खर्च वित्तीय संस्थाहरूको कुल खर्चको आकारमा ठूलो हुने गर्छ । अब आम्दानीमा संकुचन आउने र खर्च भने यथावत् हुनेछ, जसले गर्दा आम्दानी र खर्चको सन्तुलन बिग्रनेछ । लकडाउन लम्बिने अवस्था आएमा कर्मचारीहरूलाई विनातलब बिदा वा आंशिक खर्च लेख्ने अवस्था नआउला भन्न सकिँदैन ।
लघुवित्तको अर्को पाटो हो, उच्च असुली दर । कोरोना संक्रमणका कारण कर्जाग्राहीहरूले कठिन आयको सामना गर्नुपर्ने भएकाले असुली दरमा गिरावट आउनेछ । कर्जाको भाखा नाघ्ने र यसका लागि कर्जा जोखिम खर्च लेखांकन गर्नुपर्ने हुन्छ । यसले वित्तीय सन्तुलनलाई प्रभाव पार्नेछ ।
कर्जा लगानीको आकारमा ह्रास आउँदा दीर्घकालीन आयको स्रोतमा प्रभाव पर्नेछ । लगानी रोकिँदा ब्याज आम्दानी घट्नेछ । यसले दीर्घकालीन असर गर्नेछ ।
लघुवित्तको अर्को मर्म सदस्यसँग निरन्तर सम्पर्कमा रहुनु हो । लकडाउनका कारण यो सम्पर्क टुटेको वा कम भएको छ । यस्तो अवस्थामा सदस्यहरू निष्क्रिय वा पलायन हुने सम्भावना हुन्छ । सदस्यहरूलाई सम्पर्क स्थापित गर्ने गतिलो औजार सूचनाप्रविधि हो तर अधिकांश लघुवित्त संस्थाले यसको उपयोग कमै गरेका छन् ।
लघुवित्त संस्थाहरूले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट विपन्न वर्ग कर्जा सापट लिएका हुन्छन् । यसले कर्जाको ब्याजदर उच्च छ । सदस्यहरूबाट कर्जा असुली नभए भाखाभित्र कर्जा भुक्तानी गर्न लघुवित्त संस्थाहरूलाई कठिनाइ हुनेछ । तिर्न सक्ने क्षमतामा ह्रास आए बैंक वित्तीय संस्थाहरूबाट पुनः कर्जा सापट पाउन रोक लाग्ने हुन सक्छ । यसबाट लघुवित्त संस्थाहरूको पूँजीको स्रोतमा कमी आउन सक्छ ।
वैदेशिक रोजगारीमा जाने अधिकांशको रोजगारी धरापमा परेको छ । यसले विप्रेषण आप्रवाहमा संकुचन आइसकेको छ । लघुवित्त कारोबारमा संलग्न परिवारका लगभग ६० प्रतिशत संख्या वैदेशिक रोजगारीमा रहेको अनुमान छ । यसबाट संस्थाहरूको कर्जा असुलीमा प्रत्यक्ष असर पर्न जानेछ । वैदेशिक रोजगारीको निरन्तरता वा उक्त जनशक्तिलाई अन्य ससाना उद्योग, व्यवसाय वा शीपमूलक पेशामा संलग्न गराउन नसकिएमा कर्जा उपभोग गरेका सदस्यहरूबाट कर्जा असुली गर्ने वैकल्पिक उपाय देखिँदैन ।
लघुवित्त संस्थाहरूले प्रवाह गर्ने विनाधितो कर्जा जोखिमयुक्त हुन्छ । यस्तो कर्जा सामूहिक उत्तरदायित्वमा बाँधिएको हुन्छ । कोरोना संक्रमणले लघुवित्तको यस सैद्धान्तिक पक्षलाई नराम्ररी प्रहार गरेको छ । सामाजिक भावनाको क्रम भंग भएको यस परिस्थितिमा पुनः सामाजिकीकरण हुन समय लाग्न सक्ने छ । यसो हुन गएमा लघुवित्तको मान्यतामा नै प्रश्न उठ्न सक्छ ।
किसानहरूले सञ्चालन गरेका ससाना आय आर्जनका क्रियाकलापबाट हुने आम्दानीमा लकडाउनले असर पारेको छ । यो क्षेत्रमा प्रवाह भएको लघु कर्जा पनि समस्यामा परेको छ । ससाना परियोजनाहरूलाई लघुवित्त वित्तीय संस्थाबाट राहतको सम्बोधन हुन नसके ऋणीहरू ऋणको थप बोझमा पर्ने र परियोजनाहरू असफल हुन सक्ने अवस्था आउला सक्छ ।
लघुवित्त संस्थाहरूलाई मर्जर वा प्राप्ति गर्ने नीति केन्द्रीय बैंकको रहेको छ । लघुवित्त संस्थाहरूमा पर्ने असरले संस्थाहरूमा पुनर्ताजगी नआएसम्म एकआपसमा समझदारी कायम गर्न कठिन हुन्छ र यो नीति प्रभावित हुन सक्छ । अति विपन्नवर्गलाई समेट्ने गरी दुर्गममा जान नसकेको अवस्थामा यस नीतिलाई प्रभावकारी बनाउन जरुरी देखिन्छ ।
अहिले नेपालमा सञ्चालनमा रहेका लघुवित्त संस्थाहरूमा आबद्ध विपन्न साना किसानहरूको जीविकोपार्जनमा प्रत्यक्ष प्रभाव परेकोे छ । विपन्न परिवारलाई राहत हुने गरी वित्तीय संस्थाहरूले विविध किसिमका अल्पकालीन तथा दीर्घकालीन योजना, नीति समयभित्र ल्याई उचित सम्बोधन गर्न सके मात्र लघुवित्त संस्थाहरूको दिगोपना रहने र पुनः सक्रिय रूपमा आफ्ना सदस्यहरूलाई सेवा विस्तार गर्न सहज हुनेछ ।
लेखक सिभिल लघुवित्त वित्तीय संस्था लिका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।