काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ ललितपुरमा ई-बग्गी गुड्न थालेको छ । अहिले परीक्षणका लागि ललितपुर महानगरपालिकाले पुल्चोक, महापाल, मंगल बजार, पाटन सुन्धारा हुँदै बुद्ध बिहारसम्म ई-बग्गी (इलेक्ट्रिक रिक्सा) गुडाउन थालेको छ ।
स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि महानगरपालिका भित्रका मठमन्दिर लगायत सम्पदा क्षेत्रहरू घुमाउनकालागि महानगरले अहिले ई–बग्गी परीक्षण गरेको नगरप्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।
नगर प्रमुख चिरी बाबु महर्जनको पहलमा ललितपुरको पर्यटकीय स्थलहरू मात्र पाटन दरबार स्क्वायर र मंगलबजारमा सीमित नराखी उनीहरूलाई ललितपुरको अन्य पर्यटकीय स्थलमा पनि घुमाउने उद्देश्यले ई-बग्गी ल्याइएको हो । यो सानो, विद्युतीय तथा वातावरणीय मैत्री भएका कारण स साना गल्लीहरूमा पनि सजिलै चलाउन सकिने हाछेथु बताउँछन ।
मंगलवार देखि शुरु भएको उक्त परिक्षण थाहा पाएपछि फोटो, भिडियो तथा टिकटक बनाउनेको भीड लागेको छ । उनका अनुसार परीक्षणकाल अवधिभर यो बग्गीमा निःशुल्क यात्रा गर्न सकिनेछ । हाल सञ्चालनमा रहेको ई-बग्गीमा चालकसहित सात जना बस्ने क्षमता रहेको छ । परीक्षण सफल भए एक महिनापछि थप ४ ओटा ई-बग्गी किन्ने र व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने योजना रहेको छ ।
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान