ऊर्जा मन्त्रालयले लोडशेडिङ घटाउने उपायको खोजी गर्न थालेको छ । मन्त्रालयमा प्राधिकरण र ऊर्जा पदाधिकारीबीच मङ्गलवार लोडशेडिङ घटाउने उपायको विषयमा छलफल भएको थियो । ‘जलविद्युत् आयोजनाबाट विद्युत् थपिने अवस्था नरहेकाले लोडशेडिङ घट्ने सम्भावना कम छ,’ ऊर्जा मन्त्रालयका सचिव हरिराम कोइरालाले अभियानसँग भने । प्रधानमन्त्री तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री बाबुराम भट्टराईले लोडशेडिङ घटाउने विकल्पको खोजी गर्न ऊर्जा सचिव कोइरालालाई लिखित निर्देशन दिएका थिए । तर, प्राधिकरण र ऊर्जा मन्त्रालयका पदाधिकारीले विकल्प दिन सकेका छैनन् । ‘कुसाहा दुहवी खण्डको १५ किलोमिटर प्रसारण लाइन निर्माण गरेर भारतबाट तत्काल १ सय मेगावाट विद्युत् आयात गर्नेबाहेकको अन्य विकल्प देखिएन,’ कोइरालाले भने ।
गत हिउँदमा दैनिक १३ घण्टाका दरले हुँदै आएको लोडशेडिङ घटाउनका लागि प्राधिकरणले भारतबाट विद्युत् आयात, डिजेल र क्यापटिभ प्लाण्ट सञ्चालन गर्ने योजना सरकारका सामु पेश गरेको थियो । तर, ती तीनै विकल्प सरकारले लागू गर्न सकेन । नेपालले भारतसँग १ सय मेगाबाट बिजुली आयात गर्नका लागि पटकपटक वार्ता पनि गर्यो । तर, भारतीय पक्षले प्रसारण लाइन मर्मत तथा अन्य प्रशासनिक प्रक्रिया पूरा गर्नका लागि ६ महीना लाग्ने बताएपछि त्यो योजना पनि त्यसै तुहिन पुग्यो ।
वर्ष ७, अंक ३४०, बुधवार ६ भदौ, २०६९