पूजामा पेडा, तरकारीमा गोलभेडा र पहाडी यात्रामा घोडा चाहिन्छ । तर भेडा नभई नहुने कुन कुरा हो भन्नुस् त ? नेपालको लोकतन्त्र । भेडा भएनन् भने नेपालमा लोकतन्त्र नै असफल हुन सक्छ । त्यसैले जति भेडा त्यति युवा नेता, त्यति नै आधुनिक नेताको सफलता ।
लोकतन्त्रको विकाससँगै देशमा भेडाहरूको पनि उपस्थिति बढ्दै गएको छ । जंगल र गाउँसम्म मात्र सीमित भएको भेडाहरूको संसार अहिले शहरको गल्ली, अदालतको आँगनदेखि संसद् भवनसम्म ‘भ्या–भ्या’ गर्दै फैलिएको छ । चितवनका जंगलहरू, पोखराका तालछेउ, बुटवलका चोकदेखि वीरगञ्जका बाइपाससम्म भेडाहरूको जुलुसले ठाउँ छोड्दैन । भेडाहरू हिमाल र पहाडमा मात्र पाइन्छन् भन्ठान्नुहोला । त्यसो होइन नि । यो त तराईमा समेत प्रशस्त पाइन्छ ।
भेडाको आँखा हुन्छ, तर पढ्दैन । दिमाग हुन्छ, तर सोच्दैन । मुख मात्रै चलाउँछ– ‘भ्या–भ्या’ । ‘हामीलाई स्वतन्त्रता चाहियो’ भन्दै भेडाहरूले गरिरहेका प्रदर्शन हेर्दा, लाग्छ– लोकतन्त्रले भेडाहरूमा पनि राजनीतिक चेतना भरिदिएको छ ।
भेडाको गोठालो हुन्छ । लोकतन्त्रको पनि गोठालो हुन्छ । तर नेपालजस्तो देशमा चाहिँ ठालू नभई गोठालो भइन्न । ठालू बन्न चालू बन्नुपर्छ । चालू भनेको आलुजस्तो जता पनि फिट हुने हो, अमेरिकादेखि काठमाण्डु, पोखरादेखि चितवन, अदालतदेखि जेलसम्म ।
शाकाहारीहरूका लागि भेडा एउटा असल सुधो प्राणी हो । तर, अरूका लागि ? खाली चार खुट्टे जनावर ! यसका विशेषता थाहा पाउँदा कतिपय मानिसलाई चकित पार्छ । के तपाईंलाई थाहा छ भेडाले दूध दिन्छ । त्यो त ठीकै छ, तर यसले भोट पनि दिन्छ । अब दूधभन्दा त भोटै ठूलो होला नि त ?
हो, भेडाहरू दुईखुट्टे पनि हुन्छन् र संविधानले दिएको अधिकार प्रयोग गर्दै भोट हाल्न पनि जान्छन् । भेडाहरूलाई विश्वास छ कि उनीहरू संसारकै प्रोटिन र भिटामिनका भण्डार हुन् । भेडासँग ऊन, नून र सुनको पनि गहिरो सम्बन्ध हुन्छ । कसरी भन्ने कुरा आफै पत्ता लगाउनु होला । भेडाहरूको विश्वास यस्तो छ कि, उनीहरूले आफूलाई खुवाउने मानिसको खुट्टामा ऊर्जा भर्न सक्छन्, वाणीमा ओज र मुहारमा तेज ।
कसैले माने पनि नमाने पनि भेडाहरू यो पनि ठान्छन् कि उनीहरूलाई दूध खुवाउने भेडी नै राष्ट्र–हजुरआमा हुन् । तर अफसोस ! भेडाहरूले आफ्नो अस्तित्वलाई यति उच्च स्तरमा पुर्याउँदा समेत सरकारले अहिलेसम्म ‘भेडा दिवस’ घोषणा गरेको छैन । के यो लोकतन्त्रप्रति अन्याय भएन र ?
भेडाहरू दुई प्रकारका हुन्छन्, घरपालुवा र जंगली । घरपालुवा भेडाहरू पालिन पाउनुमा गर्व गर्छन् । उनीहरूलाई निःशुल्क दानापानी, औषधि, बिजुली, बिजुलीपानी, मोटर साइकिल, गाडी र पेट्रोल आदिको व्यवस्था हुन्छ । जंगली भेडाहरू वास्तवमा भेडाहरू नै होइनन् । भेडाको खोलभित्र असलमा उनीहरू के हुन् भन्नेमा अनुसन्धान गर्नु आवश्यक छ ।
जंगली भेडाहरूको एउटा विशेषता के हुन्छ भने उनीहरू भोट दिँदैनन् । दोस्रो, उनीहरू भोट दिने घरपालुवा भेडाहरूलाई घृणा गर्छन् र आफूलाई उनीहरूभन्दा श्रेष्ठ मान्छन् । तेस्रो कुरा, यी जंगली भेडाहरू मांसाहारी हुन्छन् र मौका पर्नासाथ जंगलको राजालाई समेत खाइदिन्छन् ।
पुरानो जमानामा जंगली भेडाहरूले पनि दूध दिन्थे । तर, देशमा नयाँ संविधान लागू भएपछि उनीहरूको दूध दिने बानी हरायो । उनीहरू मोटोघाटो हुन थाले, र उनीहरूका बैंक खाताहरू धनले ह्वात्तै भरिए । उनीहरूसँग पर्याप्त धन हुन थाल्यो । पर्यो भने अदालतलाई बुझाउन ६० लाख, ६५ लाख त के करौडौं, अर्बौं रुपैयाँ छिनमै निकाल्न सक्छन् । आफ्ना छाला जोगाउन उनीहरूले कानूनका ठूला कीराहरूलाई संविधानका पाना समेत चपाउन लगाउँछन् । अब सवाल उठ्छ, यी पैसाहरू कहाँबाट आए ? तर यो अनुसन्धान कसले गर्छ ? अनुसन्धान गर्न बजेट चाहिन्छ र त्यो बजेट त उनीहरूले नै हजम गरिसकेका छन् ।
घरपालुवा भेडाहरूको जीवन सामान्य हुन्छ । उनीहरू दैनिक जीवनमा प्रयोग हुन्छन् । तर जंगली भेडाहरूको जीवनशैली विलासी हुन्छ । यस्तो देख्दा घरपालुवा भेडाहरू छक्क पर्छन् ।
पछाडि परेका (ब्याकवर्ड) भेडाहरू हेर्दैमा गरीब देखिन्छन् । तिनीहरू भोट दिन र भान्साका काममा प्रयोग हुन्छन् । उनीहरूको सन्तान झनै गरीब (महा ब्याकवर्ड) हुन्छन् भने जंगली भेडाहरूका सन्तान झनै जंगली (महाजंगली) हुन्छन् । ती महाजंगलीहरूले आफ्नो भोक मेटाउन सरकारी जग्गाजमीन र बगैंचाहरू चर्छन् । तर, त्यसपछि पनि उनीहरूको भोक मेटिँदैन ।
पछाडि परेका भेडाहरूको गोबरले उत्कृष्ट मल बन्छ भने जंगली बाख्राहरूको गोबरबाट सरकारी ‘च्यवनप्राश’ बन्छ । यही फरकलाई मिडियाहरूले विकास भन्छन् ।
लोकतन्त्रमा भेडापालन एक लाभदायक व्यवसाय हो । भेडाहरूलाई लाग्छ, पालन गर्ने प्रणाली उनीहरूको पक्षमा छ र पाल्नेहरूलाई लाग्छ, उनीहरूको पक्षमा ।
जब कुनै व्यक्तिले उनीहरूलाई ‘दाजुभाइ तथा दिदीबहिनीहरू’ भनेर सम्बोधन गर्न थाल्छन्, भेडाहरू ‘भ्या–भ्या’ भन्दै उफ्रन थाल्छन् । कहिलेकाहीँ कुनै भेडाले आफै राजनीति गर्ने सोच बनाउँछ, तर सफल हुँदैन । किनकि भेडाहरू संगठनको महत्त्व बुझ्दैनन् । भेडाहरूले ‘हामी’ भन्दैन, सधैं ‘म म’ भन्छन् । हेर्नुहोस् त, बाहिर सडकबाट आवाज आइरहेको छ– भ्या–भ्या, जिन्दावाद, मूर्दावाद ।
भेडागिरी एउटा पेशा हो । आधुनिक भेडा बाठा पनि छन् । एउटाको भेडा बन्दा केही हात लागेन भने अर्काको भेडा बन्न पुग्छन् । कोही चाहिँ भेडा बन्दा बन्दै भेडाको नाइके बन्छन् र उस्तै परे नेतै पनि बन्छन् । यस्ता भेडा अर्को दलको भेडाप्रति जति आक्रामक हुन्छन्, त्यति नै भेडागिरी सफल हुन्छ । कोहीको धर्म नै भेडा बनाउनु र बन्नुमा हुन्छ । तिनको कर्म नै भेडा बन्नु हो । तिनको भूत, वर्तमान र भविष्य भेडा नै हो । त्यसैले नेपाललाई भेडाप्रधान देश भन्दा पनि फरक पर्दैन ।
अझ अर्का एकथरी भेडा हुन्छन्, उद्योगीले कमाएको, विदेशीले पैसा लगाएको त देख्नै हुन्न । ‘भ्या–भ्या’ गर्दै कराइहाल्छन् । ती भेडाको पनि नयाँ पसल खुलेको छ रे । एउटाको भेडा पसल चलेपछि अर्कोले पनि खोल्ने नै भयो । भूपि काकाले भेडा नभनेर क्यारेमका गोटी भन्थे । तर कुरो एउटै हो ।
लक्ष्मीप्रसाद देवकोटाले ७०–८० वर्षअघि नै ‘प्रभुजी भेडो बनाऊ’ भनेर लेखेका थिए । उनलाई भेडाको युग आउँछ भनेर उहिल्यै थाहा रहेछ । तर उनको भेडा अलिक सुदो थियो अहिलेको जस्तो जण्ड होइन । हामी पनि भेडाकै पछि लाग्नुपर्छ कि क्या हो ? भेडाको विरोध गरे सिङ उजाएर हान्न आउलान् । त्यसैले चुप लाग्ने कि भेडावाद जिन्दावाद भन्ने तपाईंकै हातमा छ है !