काठमाडौं । गैरआवासीय नेपालीसमेत रहेका लेखक मोदनाथ खनालको ‘मानिस किन विदेसिन्छन्’ कृतिको लोकार्पण गरिएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा पूर्वराजदूत तथा परराष्ट्रविद डा. दिनेशराज भट्टराई, पूर्वमन्त्री चीनकाजी श्रेष्ठ, वरिष्ठ पत्रकार किशोर नेपाल, नेपाली कांग्रेसका नेता गुरु घिमिरे, छविरमण सिलवाल, प्राडा. मुकुन्द लामिछाने, ज्ञानु अधिकारी लेखक खनाल लगायतले संयुक्त रूपमा उक्त कृतिको लोकार्पण गरे ।
कार्यक्रममा प्रमुख अतिथि डा. भट्टराईले बाल्यकालदेखिका कुरा सहित नेपालका विविध विशेषता समेत उल्लेख गरिएको कृति वर्तमान नेपालको राजनीतिक बेथिति उजागर गरेको र मानिस विदेसिनुका कारणहरू स्पष्ट राखेको बताए ।
पूर्वमन्त्री चीनकाजी श्रेष्ठले नेपालको वर्तमान राजनीतिप्रति रोष प्रकट गरे । उनले सही मान्छेले सही ठाउँ नपाएर विदेसिनु परेको बताए । कार्यक्रममा वरिष्ठ पत्रकार किशोर नेपालले शुभकामना मन्तव्य व्यक्त गरे ।
कृतिमाथि संक्षिप्त टिप्पणी गर्दै समालोचक ज्ञानु अधिकारीले भनिन्, ‘पुस्तकको शीर्षक नै मूर्त भएकोले त्यसले धेरै कुरा बोलेको छ । आजको समयको जल्दोबल्दो विषयमाथि भोक्ताले लेखेको कृति हो । यसमा विदेसिएका मान्छेको मनोदशा आएको छ । राजनीतिक दल र तिनका नेताहरुको अदूरदर्शिताको कारण धेरै नेपाली विदेसिएको कुरालाई कृतिमा प्रष्ट्याइएको छ ।’
अर्का टिप्पणीकर्ता प्रा.डा.मुकुन्द लामिछानेले तीनखुट्टे ओदानको रूपमा रहेका वर्तमान तीन ठूला दलहरूको अर्कमण्यताले मानिस विदेसिन वाध्य भएका छन् भन्ने कुरालाई प्रष्ट पारेको बताए ।
कवि एवं सञ्चारकर्मी ठाकुर बेलवासेको सञ्चालनमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य आयोजक प्रतिष्ठानका महासचिव कवि, नियात्राकार प्रदीप सापकोटाले स्वागत मन्तव्य राखेका थिए । सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष कवि छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न भएको थियो ।