सुनसरीको इनरुवा–२ स्थित बिहिबारे हाटमा फलामका सामग्री बनाउँदै आएका राजा शर्मा आफ्नो जीवनयापनका लागि दिनभर फलामका विभिन्न सामग्री बनाउनमा व्यस्त हुन्छन्। उनले वैदेशिक रोजगारीको सट्टा आफ्नै ठाउँमा फलामका सामानहरू निर्माण र बिक्री गर्दै राम्रो आम्दानी गर्न सफल भएका छन्।
शर्माले दुहबीमा रहेको फलाम उद्योगबाट कच्चा माल ल्याएर आफ्नो सीपको प्रयोग गरी चुलेसी, कचिया, खुर्पी, दबिया, सुपारी काट्ने मेसिन जस्ता सामग्री निर्माण गर्दै आएका छन्। उनले मासिक रु. ४० हजारदेखि ५० हजारसम्म आम्दानी गर्ने गरेको बताए। उनका अनुसार विदेश जानुभन्दा आफ्नै गाउँमा मेहनत र सीप प्रयोग गर्नाले पनि राम्रो आम्दानी सम्भव छ।
उनले भने, “फलामको सामग्री निर्माण गरेर मासिक रु ४० देखि ५० हजारसम्म आम्दनी हुन्छ । रोजगारीका लागि विदेश जानुभन्दा आफ्नै गाउँठाउँमा मेहनत र सीपको प्रयोग गर्यो भने राम्रै आम्दानी गर्न सकिन्छ ”
उनका साथमा बिहिबारे हाटमा अन्य ४० भन्दा बढी लोहार समुदायका मानिसहरू पनि फलामका सामग्री बनाएर आफ्नो जीविकोपार्जन गर्दै आएका छन्। स्थानीय सन्तोष शर्माका अनुसार यी समुदायका मानिसहरूले फलामका सामग्री निर्माण गरी हाटबजार तथा पूर्वी नेपालका विभिन्न जिल्लामा बिक्री गरेर आफ्नो परिवार चलाउँदै बालबालिकालाई राम्रो शिक्षा प्रदान गरिरहेका छन्।
राजा शर्माका अनुसार पुर्ख्यौली पेशालाई संरक्षण गर्दै उनीहरूले सोचे अनुसारको आम्दानी गरिरहेका छन्। आधुनिकता आए पनि लोहार समुदायका अधिकांशले पुरानै शैली र उपकरणको प्रयोग गर्दै आफ्नो परम्परागत पेसा निरन्तरता दिइरहेका छन्। रासस