विराटनगर : मेची भन्सारबाट जाँचपास भएर गएका १७ ट्रकमा रहेको झन्डै २ हजार टन नेपाली तयारी चिया भारतीय भन्सार कार्यालयले रोकेको छ ।
पहिले ३/३ महीनामा ५ देखि २० प्रतिशत प्रयोगशाला परीक्षण रिर्पोट पेश गरेपछि नेपाली चिया सहज निकासी दिइरहेको भारतीय भन्सार पानीटंकीले बिहीवारदेखिे शतप्रतिशत परीक्षणको प्रमाणपत्र चाहिने भन्दै भारतीय भन्सार क्षेत्रमा चिया बोकेका मालवाहक ट्रकहरू अलपत्र पारेको छ । भारतको केन्द्र सरकारले गत फेब्रुअरी २३ तारीखमा एउटा सूचना प्रकाशित गरी भारतका उत्तरी प्रान्तहरूमा वर्षभरि उत्पादन हुने चिया सार्वजनिक अक्शनका माध्यमबाट बेच्नुपर्ने निर्देशन दिएको थियो ।
अर्थोडक्स चियाको हकमा ५० प्रतिशत मात्र सार्वजनिक अक्शनमा लगे पुग्ने गरी निर्देशन दिएको थियो । यो प्रक्रियामा विषादी परीक्षण गरिएपछि मात्र चिया बजारमा पठाउन सकिने र सार्वजनिक अक्शनबाट विक्री गर्दा चियाको गुणस्तरको आधारमा मूल्य पनि बढी पाइने भएकाले भारतले अप्रिल १ बाट लागू हुनेगरी यो व्यवस्था गरेको छ । यो व्यवस्था तत्काल ३ महीना लागि लागू हुनेछ ।
नेपालमा चिया परीक्षण गर्ने उच्च गुणस्तरको प्रयोगशाला नभएकाले भारतीय बजारमा चिया बेच्न भारतमै लगेर परीक्षण गर्नुपर्ने हुँदा नेपाली चियाको पनि विषादी परीक्षण नभई विक्री गर्न पाइँदैन ।
चिया व्यवसायीहरूका अनुसार भारतीय पक्षले नेपाली चिया शतप्रतिशत नै परीक्षण गरेको हुनुपर्ने बताएपछि अहिले निर्यातमा अवरोध आएको हो । भारतीय चिया उत्पादकहरू नेपाली चियाले उनीहरूको बजार खाइदेला भनेर त्रस्त छन् ।
नेपाली चियालाई रोक्नुपर्छ भनेर पटकपटक भारतीय संसद्मा सिक्किम र दार्जिलिङका सांसदहरूले कुरा उठाइरहे पनि सोझै नेपाली चियालाई भारतले प्रतिबन्ध नै लगाएको त छैन तर समयसमयमा परीक्षणको नाममा निकासीमा झन्झट थपिरहेको व्यवसायीहरू बताउँछन् ।
यसअघि वर्षमा एकपटक परीक्षण गर्दा पुग्नेमा भारतीय पक्षले ६/६ महीनामा झारेको थियो । तीन वर्ष अघिदेखि ३/३ महीनामा निर्यात गर्न लागिएको चियाको ५ देखि २० प्रतिशत परीक्षण गरी त्यसका आधारमा निकासी गरिँदै आएको थियो ।
नेपाली चिया भारतीय चियाभन्दा सस्तो र गुणस्तरमा दार्जिलिङको चियाभन्दा राम्रो भएपछि भारतीय व्यापारीहरू नेपाली चिया किन्न लालायित देखिन्छन् । किनकी दार्जिलिङको चियाभन्दा बढी नेपाली चियामा नाफा कमाउँछन् । तर, भारतीय चिया विकास बोर्डले बेलाबेलामा चियाको भन्सार मूल्यांकन, गुणस्तरजस्ता विषयमा प्रश्न उठाएर नेपाली चियाको सहज निकासीमा अवरोध सृजना गर्दै आएको नेपाल चिया उत्पादक संघका केन्द्रीय उपाध्यक्ष शिवकुमार गुप्ताले जानकारी दिए ।
उनले भारतीय प्रावधानले नेपाली चियाको निकासी ठप्प हुने बताए । भारतीय भन्सार पानीटंकीमा गाडी राख्ने सुविधा र गोदामसमेत छैन । चियाको गाडीलाई खुला स्थानमा राख्नुपर्छ । चियालाई पानी र घामबाट जोगाउने त्यहाँ कुनै भौतिक पूर्वाधार छैन । चिया व्यवसायीहरूका अनुसार प्रत्येक गाडीबाट चियाको नमूना लगेर कोलकाताको ल्याबमा परीक्षण गराएर रिपोर्ट आउन करीब १५ दिन लाग्छ । १५ दिनसम्म ट्रकको भाडा र ल्याब परीक्षणको १५ हजार भारू तिर्नुपर्छ । यो प्रक्रिया पूरा गरेर भारतीय बजारमा नेपाली चिया पुग्दा नेपाली चियाको लागत बढ्ने र भारतीय चियासँग प्रतिस्पर्धा गर्न नसक्ने परिस्थिति सृजना हुने व्यवसायीहरूको भनाइ छ ।
नेपाली चियाको सबैभन्दा ठूलो बजार भारत नै रहँदै आएको छ जसका कारण भारत सरकारको नीतिले नेपाली चियाको भविष्य पनि निर्धारण गर्छ । गत आर्थिक वर्ष नेपालले ३ अर्ब ९३ करोड रुपैयाँ बराबरको चिया निर्यात गरेकोमा भारतमा मात्र ३ अर्ब ४३ करोड रुपैयाँको चिया निर्यात भएको राष्ट्र बंैकको तथ्यांकमा उल्लेख छ ।
एउटा उद्योगले किसान र साना किसान सहकारीबाट हरियो चिया किनेर प्रोसेसिङ गरेर अर्थाेडक्स र सीटीसी चिया बनाउँछ र भारतीय बजारमा विक्री गरेर किसान, साना किसानको पैसा तिर्छ । कर्मचारी, चिया मजदूर र बैंकको समेत पैसा बुझाउँछ । भारतीय नीतिका कारण नेपाली चियाले भारतीय बजारमा प्रवेश नपाए नेपाली चिया उद्योगसँगै ४० हजारभन्दा बढी चिया मजदूरको रोजगारीमा पनि असर गर्र्ने व्यवसायीहरू बताउँछन् ।
उपाध्यक्ष गुप्ताले नेपाल सरकारले तत्कालै एउटा समिति बनाएर भारत सरकारसँग वार्ता गरी पूर्ववत् अवस्थामा नेपालको चियालाई भारत निकासीको वातावरण बनाउनुपर्ने माग गरे । विश्व बजारमा आफ्नो पहिचान बनाउन शुरू भएको नेपाली चियाले भारतीय बजार गुमाउनु भनेको ८० प्रतिशत बजार गुमाउनुपर्ने भएकाले सरकारले बेलैमा यो समस्याको समाधान खोज्नुपर्ने उनले माग गरे ।
नेपालमा अन्तरराष्ट्रिय स्तरको मान्यताप्राप्त ल्याब नभएकाले मेची भन्सारबाट चियालगायत कृषि उत्पादन निकासी गर्न भारतको कोलकातामा रहेको ल्याबमा परीक्षण गराएरमात्र निकासी गर्नुपर्ने बाध्यता रहेको अर्का चिया उद्योगी तथा नेपाल टि प्लान्टर एशोसिएशनका अध्यक्ष उदय चापागाईंले बताए ।
उनले नेपालसँग अन्तरराष्ट्रिय मान्यताप्राप्त प्रयोगशाला नहुँदा भारतले सधैं नेपाली चिया निकासीमा किचलो गरिरहेको बताउँदै यस्तै समस्या ३ वर्षअघि पनि आएको बताए । त्यसबेला बेला भारतको टि काउन्सिलले नेपाली चियाको गुणस्तरको जाँचपास ६/६ महीनाबाट ३/३ महीनामा गर्नुपर्ने अनि मात्र नेपाली चियालाई प्रवेश दिने बताएपछि १ साता नेपाली चिया निकासी अवरुद्ध भएको थियो ।
तर, नेपाली चिया कोलकाताको ल्याबमा मिसावट र अखाद्य भनी नष्ट गर्नु नपरेको अथवा फिर्ता ल्याउनुपरेको इतिहास नभएको चापागार्इंले बताए । नेपाली चियामा कुनै दोष नदेखिए पनि दार्जिलिङ र सिक्किमको दबाबमा त्यहाँको चिया बोर्डले किचलो झिकिरहने उनले बताए । यसको स्थायी समाधानका लागि नेपाल सरकारले सोझै भारत सरकारसँग सोझै वार्ता गरी समस्याको समाधान निकाल्नुपर्ने चापागाईंको भनाइ छ । उनले भने, ‘तत्काल समस्या समाधान नभए नेपाली चियाको ३ अर्बको बजार ध्वस्त हुन्छ ।’
मेची भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार बिहीवारदेखि नेपालबाट जाँचपास भएर गएको नेपाली चिया बोकेका ट्रकलाई भारतीय नाका पानीटंकीबाट छिर्न दिइएको छैन । नेपालका ट्रकहरू रोकिए भनेर भारतीय भन्सार समकक्षीसमक्ष बुझ्दा अहिले भारतीय भन्सारमा ल्याब परीक्षणको रिपोर्टसमेत राखेपछि मात्र जाँचपास हुने कम्प्युटर प्रणाली लागू भएकाले समस्या आएको जानकारी दिए ।
नेपालको भन्सार जाँचपासपछि भारतीय भन्सार परिसरमा पुगेको मालवस्तुको नमूना संकलन गरी कोलकातामा रहेको ल्याबमा परीक्षणका लागि पठाएर त्यसको रिर्पोट आएपछि मात्र चिया छाडिने जानकारी आएको रेग्मीले बताए । तर, परीक्षणको रिपोर्ट आउन कम्तीमा पनि १० दिन लाग्ने भएकाले डिटेन्सन चार्ज र ल्याब परीक्षणको लागतका कारण नेपाली चिया निकासीमा झन्झट हुने देखिएको उनले बताए ।
रेग्मीले समस्याका बारेमा भन्सार विभागलाई जानकारी गराएको र भारतीय भन्सारका समकक्षीले पनि नेपाली चियामा लागू भएको शतप्रतिशत ल्याब परीक्षणको प्रावधानले निम्त्याउने समस्याका बारेमा लेखेर भारतीय भन्सार कार्यालयलाई पठाएकाले समस्याको समाधान निस्कनेमा आफू आशावादी रहेको बताए ।
भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म २ अर्ब १८ करोड ८९ लाख २२ हजार रुपैयाँ बराबरको ९ हजार ८ सय ३ मेट्रिक टन चिया निकासी भएको छ । ८० प्रतिशत चिया भारत निकासी हुन्छ भने अन्य २० प्रतिशत चिया चीन, जापान, जर्मनी, अमेरिका, अस्ट्रेलिया, रसिया र खाडी मुलुक निर्यात भइरहेको छ ।
नेपाली चियाको सबैभन्दा ठूलो बजार भारत नै रहँदै आएको छ जसका कारण भारत सरकारको नीतिले नेपालको चियाको भविष्य पनि निर्धारण गर्छ ।