नेपाल युवा उद्यमी मञ्चले आयोजना गरेको ‘हाम्रै नेपालको प्रदर्शनी मेड इन नेपाल’ भर्खर समाप्त भएको छ । नेपालको निजीक्षेत्रले विभिन्न औद्योगिक वस्तु तथा सेवा उत्पादनमा भए गरेका प्रयास र उत्पादनका बारेमा उपभोक्तालाई जानकारी गराउने उद्देश्यले यो प्रदर्शनी भएको हो ।
प्रदर्शनीमा सहभागी १ सय ४० विभिन्न उद्योग व्यवसायका स्टलले नेपाली उपभोक्तामा नयाँ उत्साह र आशा जगाएको छ । नेपालमा उद्योग–व्यवसाय केही हुन सक्दैन, यहाँ केही पनि बन्दैन र भविष्य नै छैन भनेर गनगन गर्नेहरूका लागि यो प्रदर्शनी एउटा गतिलो जवाफ पनि भएको छ । नेपालले २०४६ सालको राजनीतिक परिवर्तनपछि विभिन्न क्षेत्रमा आशालाग्दो प्रगति गरेको छ भन्ने कुराको प्रमाण पनि हो यो प्रदर्शनी ।
प्रतिकूल अवस्थामा पनि नेपाली उद्यमीहरू हात बाँधेर बसेका छैनन् र मुलुकको अवस्था उद्योगमैत्री बन्नेबित्तिकै अपेक्षित आर्थिक उन्नति हुन सक्छ भन्ने पनि यो प्रदर्शनीले सन्देश दिएको छ । यस प्रदर्शनीबाट उत्साहित बनेका युवा उद्यमीहरूले यही वर्षभित्र विराटनगरमा क्षेत्रीय प्रदर्शनी र मलेशियाको क्वालालम्पुरमा अन्तरराष्ट्रिय स्तरको मेड इन नेपाल प्रदर्शनी गर्ने भएका छन् ।
(सम्पादकीयबाट) वर्ष ८, अंक ८, मंगलवार २६ भदौ, २०६९