बैंक खाता हुनु भनेको धनी हुनु पनि हो । त्यसैले एकताका सबै नेपालीलाई धनी बनाउन हरेक नेपालीको एक बैंक खाता अभियान नै चलाइएको थियो । अझ कतिपय उदार बैंकहरूले त आफै पैसा हालिदिएर पनि बैंक खाता खोलिदिएका थिए । त्यो खातामा पछि पैसा थपिए कि थपिएनन् थाहा भएन । के चैं थाहा छ भने धेरै नेपालीका एकभन्दा धेरै बैंकका खाता छन् । त्यै तथ्यांक देखाएर कत्तिले आफ्ना दुना पनि सोझ्याएका होलान् ।
त्यसो त अहिले मसँग धेरैओटा बैंक खाता खुलेका छन् । तपाईं सोध्नुहोला, ‘कहाँबाट ल्याउनुभयो पैसा त्यति धेरै बैंकमा खाता खोल्न ? चिठ्ठा–सिठ्ठा पर्यो कि अपुताली सर्यो ? ससुरालीतिरबाट पैसा झर्यो कि ठेक्कापट्टा हात पर्यो ?’
खासमा त्यस्तो केही भएको छैन । हरेक दिन बैंकहरूबाट मीठो स्वरका धनी बैनीहरूले म गरीबलाई पनि फोन गर्छन् । भन्छन्, ‘सर, जिरो ब्यालेन्समा पनि हुन्छ, हाम्रो बैंकमा खाता खोल्नुस्, राम्रो इन्टे्रस्ट पाइन्छ ।’
म पनि भन्छु, ‘यसरी नै मीठो बोल्दै जानुस्, मलाई यसै इन्ट्रेस्ट आइराछ ।’
यै मिठो स्वरको चक्करमा एक दर्जन बैंकमा मेरो खाता खुलेछ । अहिले फेरि बैंकहरूबाट फोन आउन थालेको छ, ‘तपाईंको बैंकमा ब्यालेन्स जिरो भएकाले पैसा राख्नुहुन्छ कि खाता बन्द गर्दिम्’ । म भने तनावमा छु, न पैसा हुने भयो, न खाता नम्बर नै । कमसे कम पैसा नभए पनि मेरो पनि बैंक खाता छ भन्ने सुख त थियो ।
कतै बाटामा हिँडेकालाई पनि तानेर मन्त्री, मुख्यमन्त्री बनाउने आजको जमानामा भाग्यमा सत्ता पल्ट्यो भने देश सेवाबापत बैंक खातामा ह्वात्तै पैसा आउन के बेर ?
बैंक खाता हुनु भनेको धनी हुनु पनि हो । त्यसैले एकताका सबै नेपालीलाई धनी बनाउन हरेक नेपालीको एक बैंक खाता अभियान नै चलाइएको थियो ।
हुन त भाग्यले साथ दियो भने खातामा पैसा आउन पनि के बेर ! देख्नुभएकै छ नि हाम्रो देशमा कत्ति बेरोजगार, रोडपतिहरू राजनीतिमा हाछ्युँ गरेकै भरमा कसरी रातारात करोडपति भए । कति भाषण गरेकै भरमा, टिभीमा स्वर सुक्नेगरी फुकेकै भरमा देशमा के के भए भए । के था म पनि बालुवाटारतिरबाट सिंहदरबारतिर तानिन सक्छु, ताननीय बन्न सक्छु, माननीय बनाइन सक्छु । जसको बाउले जीवनमा धान वा मकैका लाखवटा दानासम्म देखेन, उसले करोडौंका दामका गड्डी गन्न पाउन सक्छ भने मेरो पनि कुनै दिन, दिन खुल्यो भने रिनमुक्त भएर धनयुक्त बन्न सक्छु ।
अर्को यो पनि सम्भावना छ कि कुनै दिन कुनै छिमेकी आएर ‘मदनजी, केही करोड रुपियाँ तपाईंको बैंक खातामा राखिदिनुपर्यो । किनकि मेरो घरमा सिआईबीले छापा मार्ला जस्तो छ । पछि १० प्रतिशत तपाईंको भागमा’ भन्न सक्छन् । किनकि मेरा छिमेकीहरू सत्ताधारी राजनीतिक पहुँचका मान्छे पो हुन् त ! एयरपोर्टमा चिन्दै नचिनेको मान्छेको खल्तीमा पचास पचास ग्राम सुन सित्तैमा हालिदिने सामान्य कुरा भएको देशमा कसैले खातामा पैसा हालिदिने कुरा असम्भव पनि त छैन ।
तर यो सम्झेरै यो चैतको गर्मीमा पनि मलाई काँप छुट्छ । अनि मनमा के के फुर्छ फुर्छ । सोच्छु, बेइमानीको कुनै रुपियाँभन्दा त इमानदारीको खाली हात नै प्यारो छ । जीवनरूपी यो सफा कागजलाई केका लागि कलंकित बनाउनु र ? जीवनको उत्तरार्धमा नर्क किन पो धाउनु र ?
त्यसैले यो बैंक खाता बन्दै गरिदिम् न त भनेर बैंक गाको त धन्नै बेहोस भाको । यो ल्याउनुस् र त्यो ल्याउनुस् भन्छन् । खोल्न सजिलो, चलाउन गाह्रो, बन्द गर्न त महा गाह्रो पो रहेछ । नेपालमा उद्योगधन्दा खोल्न सजिलो, बन्द गर्न महाभारत भन्ने सुनेको थिएँ । त्योभन्दा गाह्रो त बैंक खाता बन्द गर्न पो रहेछ । अझ बैंकको कुनै सेवा चाहिएन भनेर बन्द गर्न जानुस् त अनि देख्नुहुन्छ बाउको बिहे । अहिलेको जमानामा बैंक खाता नभै पनि नहुने, खाता भएर पनि खातामा राम्रै पैसा नभै नहुने । पैसा भने कमाउनै नसकिने । हैन, यो पैसा भन्ने चिज यस्तै हो कि मलाई मात्र यस्तो हँ ? यो पैसाले गर्नु गर्यो नि !