काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७ करोड ९५ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यसअवधिसम्म कम्पनीले ६ करोड ४३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा २३ दशमलव ७० प्रतिशत बढी भएको हो ।
यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी गत वर्षभन्दा बढी संकलन भएकाले नाफा बढ्नमा सहयोग मिलेको हो । गत वर्ष ३९ करोड ६३ लाख रुपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष ५० करोड ६३ लाख रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो ।
दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने ७ करोड ६० लाख रुपैयाँभन्दा बढी रहेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ३२ करोड रुपैयाँ छ भने जगेडा कोष रकम ७२ करोड ८९ लाख रुपैयाँभन्दा बढी छ । दोस्रो त्रैमाससम्म ३ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ८ अर्ब ४० करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ ।
यस अवधिसम्म कम्पनीले १४ अर्ब १४ करोड ३६ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष ७ दशमलव ८७ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ७ दशमलव ७८ प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ ५ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १६० रुपैयाँ ९९ पैसा छ ।