काठमाडौं । सरकारले विदेशी मह आयात अनुमति रोकेको ८ महीनासम्म पनि मौज्दात रहेको नेपाली मह विक्री गर्न किसानलाई समस्या भएको छ । स्वदेशमा उत्पादित महले बजार माग नधान्ने भए पनि विदेशी महको तुलनामा लागत मूल्य महँगो पर्ने भएकाले स्वदेशी मह विक्री गर्न समस्या पर्ने गरेको हो ।
विदेशी महको मूल्यसँग प्रतिस्पर्धा गर्न नसकेर गतवर्ष किसानले उत्पादन गरेको करीब ३ हजार २०० मेट्रिक टन मह खेर जाने अवस्था सृजना भएको थियो । त्यसकारण कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत वैशाख पहिलो साता स्वदेशी महको मौज्दात नसकिएसम्मका लागि विदेशी मह आयात अनुमति रोक्न खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागलाई निर्देशन दिएको थियो ।
नेपाल मौरीपालन महासंघका अनुसार मुलुकमा वार्षिक ५ हजार मेट्रिक टन हाराहारी मह उत्पादन हुन्छ । तर, नेपाली बजारमा प्रत्येक वर्ष करीब ८ हजार मेट्रिक टन महको माग हुन्छ । मागभन्दा उत्पादन ३ हजार मेट्रिक टन कम भए पनि नेपाली मह बेच्नै मुश्किल पर्ने गरेको महासंघका अध्यक्ष सुवासचन्द्र घिमिरेले आर्थिक अभियानलाई बताए ।
‘सरकारले आयात अनुमति रोक्नुअघिसम्म हामीसँग ३ हजार २०० मेट्रिक टन मह मौज्दात थियो । आयात अनुमति रोकेको ८ महीना पुग्दा पनि अझै ७०० मेट्रिक टन मह मौज्दात छ,’ उनले भने ।
उनका अनुसार स्वदेशी महको लागत मूल्य प्रतिकिलो ४०० रुपैयाँ छ । तर, व्यवसायीले भारतबाट प्रतिकिलो २०० रुपैयाँमै आयात गर्छन् । ‘४०० मा किनेर हजारमा बेच्नुभन्दा २०० मा किनेर बेच्न नाफा हुने भएकाले व्यवसायीले हाम्रो उत्पादन किन्न मान्दैनन्,’ घिमिरेले भने । अहिले बजारमा १ किलो महको मूल्य १ हजार रुपैयाँ छ । सरकारले व्यवसायीलाई आयात अनुमति दिन रोकेपछि केही हदसम्म मौज्दात घटेको छ । तर, यो पर्याप्त नभएको घिमिरेको भनाइ छ ।
स्वदेशी उत्पादन विक्री नहुने र विदेशी मह आयात भएर किसानको लगानी जोखिममा पर्ने काम भइरहेको भन्दै किसानले पटकपटक सरकारसँग मह आयातमा कर वृद्धि गर्नुपर्ने, स्वदेशी महलाई बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्नेलगायत माग राख्दै आएका छन् ।
तर, नेपाल भारतबीचको व्यापार सन्धिअनुसार नेपालले भारतीय महमा भन्सार लगाउन पाउँदैन । फलस्वरूप नेपालको महलगायत कृषि उत्पादनले भारतीय कृषि उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्दैनन् ।
किसानको उत्पादन विक्री हुन नसकेर समस्या भएकाले किसानकै मागअनुसार मन्त्रालयले मौज्दात नसकिएसम्मका लागि भनेर व्यवसायीलाई आयात अनुमति नदिन खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागलाई निर्देशन दिएको मन्त्रालयका सहसचिव सबनम शिवाकोटीले बताइन् । उनका अनुसार किसानको समस्या समाधान भएपछि फेरि मन्त्रालयले किसानका प्रतिनिधिसँग छलफल गरेर आयात अनुमति दिन सक्नेछ ।
२ करोड रुपैयाँको मह आयात
सरकारले मह आयात अनुमति रोके पनि भन्सारबाट यसको आयात भएको देखिएको छ । चालू आर्थिक वर्षको पहिलो ३ महीनामा २ करोड ८४ लाख ७३ हजार रुपैयाँको १०२ मेट्रिक टन मह आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
विभागको तथ्यांकअनुसार भारत र न्युजिल्यान्डबाट उक्त मह आयात भएको हो । सरकारले व्यवसायीलाई आयात अनुमति दिन रोकेको भए पनि पहिले नै अनुमति लिएर बसेका व्यवसायीले आयात गर्दा यस्तो देखिन गएको मन्त्रालयका सहसचिव सबनम शिवाकोटीले बताइन् । ‘व्यवसायीले सरकारसँग लिएको आयात अनुमतिको अवधि ६ महीना हुन्छ । उनीहरूले एकपटक अनुमति लिइसकेपछि ६ महीनासम्म आयात गर्न पाउँछन् ।
त्यसकारण भन्सारको तथ्यांकमा देखिएको परिमाण वैशाखअघि नै अनुमति लिएका व्यवसायीले आयात गरेको हुन सक्छ,’ शिवाकोटीले भनिन् । नेपालमा ४२ जिल्लामा मौरीपालन छ । ती जिल्लाबाट महासंघमा हालसम्म १३ हजार ८०० किसान संलग्न छन् ।