काठमाडौं । महिला उद्यमी महासंघ नेपालले नेप्को इन्टरटेन्मेन्ससँगको सहकार्यमा अस्ट्रेलियाको मेलवर्नमा ‘मेड इन नेपाल एक्स्पो २०२४’ आयोजना गर्ने भएको छ । मेला आगामी डिसेम्बर १४ र १५ मा मा स्थानीय समयअनुसार बिहान १० बजेबाट साँझ ५ बजे सम्म सञ्चालन हुनेछ ।
नेप्को इन्टरटेन्मेन्सको आयोजनामा हुन लागेको सो मेलामा महिला उद्यमी महासंघ नेपाल सहआयोजक छ ।
मेलामा नेपाली कच्चा पदार्थहरूका साथै स्थानीय शीप तथा प्रविधिको प्रयोगबाट उत्पादन भएका वस्तु तथा सेवाहरूलाई विक्री एवं प्रर्दशनीका लागि राखिनेछ ।
सो मेलामा महासंघले नेपाली उद्यमीहरूद्धारा उत्पादन गरिएका हस्तकला, कृषि, शिक्षा, पर्यटन, खाद्य उत्पादनका साथै नेपाली सांस्कृतिक उत्पादनहरूको प्रवद्र्धन, प्रदर्शन तथा विक्री वितरण गर्नेछ ।
मेलाले नेपालमा अन्तरराष्ट्रिय पर्यटकहरूको आगमनमा वृद्धि गर्नुका साथै अन्तरराष्ट्रिय स्तरका व्यवसायी तथा लगानीकर्तालाई नेपाली उद्योगहरूमा लगानीका लागि अवसरहरू प्राप्त हुनेछ । साथै नेपाली उद्यमीका उत्पादनहरू अन्तरराष्ट्रिय बजारमा पहुँच पुग्नुका साथै विक्रीवितरणका लागि दीर्घकालिन अवसर प्राप्त हुने महासंघले जनाएको छ ।
मेलाले नेपालको सामाजिक तथा आर्थिक विकासका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा महासंघले विश्वास लिएको छ ।