logo
महिलालाई उद्यमी बनाउन शिक्षण पेशा छोडेकी श्यामवदन
महिलालाई उद्यमी बनाउन शिक्षण पेशा छोडेकी श्यामवदन

नेपाली हस्तकला उद्यममा श्यामवदन श्रेष्ठ स्थापित नाम हो । आफू मात्र सफल भएर हुँदैन, अन्य धेरै दिदीबहिनीलाई पनि आर्थिक रूपमा बलियो बनाउनुपर्छ भनेर नै पेशागत रूपमा स्थापित भइसकेकी श्याम वदनले शिक्षण पेश नै छाडिन् । 

त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषा साहित्यमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेर १३ वर्षसम्म शिक्षण पेशा गरेपछि जीवनमा आफूमात्रै सफल भएर हुँदैन भन्ने लागेको उनी सुनाउँछिन् । ‘मनमा म जस्तै धेरै महिला दिदीबहिनीलाई पनि आर्थिक रूपमा बलियो बनाउनुपर्छ भन्ने थियो,’ उनले विगत सुनाइन्, ‘त्यसको परिणाम स्वरूप ४० वर्षअघि २०० रुपैयाँको लगानीमा नेपाल नट क्राफ्ट सेन्टर स्थापना भयो । त्यसको अध्यक्षको रूपमा अहिले पनि उनी सक्रिय छिन् । 

८ वर्षको उमेरदेखि नै आफ्नी आमाको साथमा हस्तकलाको काम गर्न शुरू गरेकी उनलाई भविष्यमा यही कामले नै आफू सफल उद्यमी बन्छु भन्ने लागेको थिएन । आफू गर्भमै छँदा बुबा गुमाएकी उनले सानै उमेरदेखि संर्घष गर्न सिकिन् । यही संघर्षबाट उनी विद्यालयमा पढ्ने खर्चको जोहो गर्दथिन् । सानै लगानीमा गरेको व्यवसायले पनि भविष्यमा सफलता दिलाउन सक्छ भन्ने ज्वलन्त प्ररेणाकी खानीसमेत हुन् श्रेष्ठ । उनले अहिले ३०० जना महिला दिदीबहिनीलाई रोजगारी दिएकी छन् । उनको व्यवसायले वार्षिक १ करोड रुपैयाँसम्मको कारोबार गर्छ ।

उद्यमशीलताको शुरुआती दिनमा काठमाडौं उपत्यकामा पाइने कच्चा पदार्थबाट हस्तकलाका सामान उत्पादन गरेकी उनले पछि नेपालमा पाइने रैथाने कच्चा पदार्थको अनुसन्धानका लागि करीब ६५ जिल्लाको भ्रमण गरिन् । त्यहाँ पाइने अल्लो, अलैंची, मकैको खोस्टा, मुच, काँस, बाबियो, पराल, जलकुम्भी झार, बाँस, बेत, निगालो आदि फाइबरयुक्त ४५ किसिमका रेशादार बिरुवाको खोज अनुसन्धान गरिन् । अहिले उनले गर्ने उत्पादन फाइबर र रेशादार वस्तुका धेरै छन् ।

रेशादार बिरुवाबाट बन्ने हस्तकलाका सामग्री उत्पादन गरेबापत नै उनी सन् २०१८ मा ‘वल्र्ड क्राफ्ट काउन्सिल अवार्ड अफ एक्सिलेन्स फर ह्यान्डीक्राफ्ट अवार्ड’ जित्न सफल भइन् । उनले २०१८ मा सार्क वुमन आन्त्रप्रेनरसिप प्रतिस्पर्धामा समेत प्रथम हुँदै अवार्ड हात पारेकी छन् । पाटन औद्योगिक क्षेत्रभित्र रहेको उनको उद्योगले उत्पादन गरेका सामान यतिबेला स्वदेशी बजारसहित यूरोप, अमेरिका, जापानलगायत देशमा निर्यात हुने गरेको छ ।

हराउन लागेको नेपाली हस्तकलाको शीपलाई जोगाउन नेपाली कच्चा पदार्थलाई नै विशेष जोड दिएको उनको अनुभव छ । उनको यो अतुलनीय योगदानको कदर गर्दै ‘न्यू बिज बिजनेश वुमन समिट एण्ड अवार्डस्–२०२४’ को चौथो संस्करणमा हस्तकला उद्यमी श्यामवदन श्रेष्ठलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड इन वुमन आन्त्रप्रेनरसिप’ सम्मान गरिएको छ । न्यू बिजनेश एज प्रालिले उनलाई यो वर्ष उक्त अवार्डस्बाट सम्मान गरेको हो । 

महिला उद्यमी छनोटका जुरी सदस्यको परिचय

राधेश पन्त 

राधेश पन्त छनोट समितिका अध्यक्ष हुन् । उनी डीएसभी एडभाइजर्स नामक परामर्शदाता कम्पनीका प्रिन्सिपल तथा भिरक एण्ड कम्पनीका सिनियर म्यानेजिङ पार्टनरसमेत हुन् । उनीसँग लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत तथा दुईओटा वाणिज्य बैंकका पूर्वकार्यकारी अधिकृत भई नेतृत्व सम्हालेको अनुभव छ । उनको सरकारी र निजी संस्थाको उच्च तहमा तीन दशक नेतृत्वदायी भूमिकाका निर्वाह गरेको अनुभव छ । 

 

उर्मिला श्रेष्ठ 

उर्मिला श्रेष्ठ साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् । यो महत्त्वपूर्ण संस्थाको प्रमुख कार्यकारीको रूपमा उनले प्रभावकारी रूपमा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी छिन् । उनी नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष पनि हुन् । सोही संस्थाअन्तर्गत रहेको नेपाल महिला चेम्बरकी अध्यक्षसमेत रहेर उनले महिला उद्यमशीलता विकासमा उल्लेख्य योगदान पुर्‍याएकी छिन् । 

 

डा. अजय घिमिरे 

डा. अजय घिमिरे एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड एस हायर सेकेण्डरी स्कूलका अध्यक्ष हुन् । सन् १९९९ मा यो संस्था र विद्यालय स्थापना गरेका उनीसँग बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)समेत भएर काम गरेको अनुभव छ ।

 

वासन्ती प्रधान 

वासन्ती प्रधान वाटिका नेपाल प्रालिकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । महिला उद्यमी महासंघ नेपालको तृतीय उपाध्यक्षसमेत रहेकी उनीसँग व्यावसायिक क्षेत्रको ३० वर्षे अनुभव छ ।

 

महिला उद्यमी छनोटका आधार

मुलुकका सातओटै प्रदेश र अन्य विभिन्न विधामा सफलता पाएका महिला उद्यमीलाई छनोट गर्न विभिन्न ६ आधार तयार पारिएको थियो । यसपटक अवार्डका लागि महिला उद्यमी छनोटका आधार यस्ता थिए :–

१. नियमनको अनुपालना
२. अर्थतन्त्रमा योगदान
३. समाजमा प्रभाव
४. उद्यमीको सामाजिक प्रतिष्ठा
५. इनोभेशन र नयाँ प्रविधिको प्रयोग
६. विभिन्न सम्बद्ध संस्थाहरूको सिफारिश

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.