बेलाबेला नेपाली जनता महँगी बढ्यो भनेर कुर्लिन थाल्छन् । अनि वर्षदिनभरि निदाए पनि चाडपर्व आउनै लाग्दा वाणिज्य विभागका हाकिमहरू मिडियालाई खबर गरेर शहरतिर, त्यो पनि सकेसम्म पाँचतारे होटलतिरै यसो घुम्न निस्कन्छन् । तर, उनीहरूले महँगी बढेको भेट्टाएको मैले अहिलेसम्म सुनेको छैन । यदाकदा पानीमा महँगी र कोलिफर्म दुवै भेटिएका समाचार त आउँछन्, त्यसपछि फेरि हराउँछन् । यस्तो लाग्छ, उनीहरू महँगीको छायालाई खोज्दै हिँड्छन् । तर महँगी भेटेको भन्ने कुरा छोटो समयमैै एउटा भ्रम मात्र हुन पुग्छ ।
हेर्नुस्, संसारमा महँगो र सस्तो केही हुँदैन । यो त सापेक्षता हो । त्यही भएर आइन्स्टाइन बाजेले यो सिद्धान्त प्रतिपादन गरे । तपाईंलाई दाल महँगो भएको भ्रम भयो ? अरे, त्यसमा अलिकति पानी थप्नुस् न, भ्रम हटिहाल्छ । अहिले पानी त सस्तो छ नि ! केही दिनअघि मात्र त देशभर पानीले बगायो, अब दालमा पनि पानी बगाए भैगो ।
अर्को कुरा, सादा दाल खाएर के बिग्रिन्छ र ? हाम्री हजुरआमाले सादा र पातलो दाल स्वास्थ्यको लागि राम्रो हुन्छ भन्नुहुन्थ्यो । हुन त बाक्लो दाल खाने रहरले नै त घरकलह चर्किने गरेको । पातलो दाल बिरामीले पनि पचाउन सक्छन् । महँगीको हल्ला गर्नुको सट्टा, सादा दाल नै बनाएर खानु नै उत्तम हुन्छ नि । आखिर हाम्रा पेट त पुराना सरकारहरूले आपूर्ति गरेका मिति सकिएका सस्ता सामानले बिग्रेको न हो । हाम्रा पेटलाई त सरकारले नै अफिसियल्ली खराब बनाइसकेको हो क्यारे । महँगीले त होइन नि ।
तर यहाँ त दालको मात्र कुरा होइन, मसला, अदुवा, लसुन, प्याज, तेल सबै महँगो छ । अब तिनको ठाउँमा म के हालूँ, धूलो ? भनेर नभन्नुहोला । अझ ग्यास सिलिण्डरको त के कुरा, यसको मूल्य दुई हजार नाघिसक्यो । तर पनि अझै माथि माथि उफ्रिरहेको छ । तर, तपाईं चैं पहाडजस्तो नरिसाउनु होला । आखिर महँगी पनि एउटा पुरानै हिरो हो, फिल्मी स्टाइलमा ‘कम ब्याक’ गरिरहन्छ त के गर्ने ?
रिसाउनुको सट्टा अलिकति अक्कलको प्रयोग गर्नुस् । यो केही समयको मात्र कुरा न हो । सन् २०२६ मा पुग्दा सबै ठीक भइसक्छ । नेपालले अतिकम विकसितबाट विकासशील राष्ट्रमा फड्को मारिहाल्छ । यतिका वर्ष कुर्नुभयो, अब डेढ वर्ष कुर्नुस् । समय जानलाई कति बेर लाग्छ र ? देशले फड्को मारेपछि जति बाक्लो दाल खाए पनि भैहाल्छ नि । अब म त भन्न चाहन्छु, देशले हावामा फड्को मार्दैछ, तपाईं पनि पानी थपेर फड्को मार्ने काम गर्नुस् ।
हेर्नुस्, महँगीलाई लिएर दु:ख वा क्रोध गर्ने बेला होइन यो । हाम्रो देशले जनसंख्या नियन्त्रणका लागि महँगीलाई समाधानको रूपमा लिएको छ । तसर्थ, तपाईं पनि यसमा सहयोग गर्नुस् । थोरै खाएर, धेरै बच्चा नपाएर ! आखिर, दुई तिहाइ खानेहरूले भन्दा त आधा पेट खानेहरूले नै देशको आर्थिक स्थिति सुधार्न सक्छन् भन्ने त हाम्रो देशको अर्थतन्त्रको स्थापित नियम नै छ नि त ।
अर्को कुरा, हाम्रो सरकारले महँगी नियन्त्रणका लागि लडिरहेकै छ । देशको आधा युवा जनशक्ति विदेश पठाउने र माग घटाएर मूल्य कम गर्ने यो सरकारको रणनीति के कम हो त ? आखिर, युवाजति विदेश पठाएर ‘रेमिट्यान्स घर पठाओ’ अभियान चलाउनु भनेकै पनि महँगीविरुद्धको अभियान हैन र ?
खान नपाएर भन्दा बढी खाएर मान्छे मर्छन् रे भन्ने दिव्य ज्ञान पाएपछि सरकार जनताले कसरी कम खालान् भनेर दिलोज्यान दिएर लागिपरेको छ । माग घटाएर मूल्य बढ्न नदिनकै लागि हाम्रा नेताहरू, सरकारी कर्मचारीहरू पाएसम्म देशमा भन्दा विदेशमै बढी समय बिताउन लागेका छन् । नेताहरू रहरले विदेश बसेका भन्ठान्नुहुन्छ ? होइन नि । उहाँहरू त देशको महँगी घटाउन बेलाबेलामा त्यहाँ गएर, लामै समय बसेर महँगी नियन्त्रणमा विश्वलाई पाठ सिकाइरहनु हुन्छ ।
यसैले त, हाम्रा प्रधानमन्त्री संयुक्त राष्ट्रसंघमा मात्र होइन, हावर्डमा समेत गएर पनि लामो अंग्रेजी भाषण गरेर विश्वलाई अचम्मित पार्नुभयो । उनको यस्तो असिन पसिन दिव्योपदेशले नेपालको मात्रै होइन, विश्वकै महँगीलाई ह्वात्तै तल झारिदिन सक्छ । हाम्रा प्रम उता के पुगेका थिए, फेडले ब्याजदरै झारिदियो । यसरी उहाँहरूको एउटा भाषणले मात्र पनि देशको महँगीलाई ठेगान लाउन बेर लाग्दैन ।
तर यता घर त चलाउनुपर्छ नि भन्नुहोला । तपाईंलाई महँगीको त्यस्तै पीडा नै छ भने कतै ओभरटाइम गर्नुस्, कुनै एक्स्ट्रा काम गर्नुस्, दुई–चार पैसा ल्याएर दाललाई पानी हुनबाट जोगाउनुस् न, भैगो त । तपाईंले आफुले काम गर्न नजानेर महँगी बढ्यो भनेर गुनासो गरेर बस्नुभएको हो भने तपाईंको मात्र लाजमर्दो गल्ती हो ।
हेर्नुस्, सोच्नै परे देशका बारेमा सोच्नुस्, जाबो महँगीको भ्रममा दिमाग कति खियाउनुहुन्छ ? हाम्रो अतीतको बारेमा सोच्नुस्, त्यो कति गौरवमय थियो । वर्तमानलाई लिएर सोच्नुस्, देशलाई कति खतरा छ भित्र र बाहिर दुवैतिरबाट । यसरी देशका बारेमा सोच्न छाडेर यो दाल, भात, महँगी, भ्रष्टाचारजस्ता अमूर्त कुराहरूकोे पछाडि किन लागिरहेको भन्या ? त्यही माथि पनि जनताले महँगीले डाढ सेक्यो भनेर कराए पनि राष्ट्र बैंकले त्यो पत्याएको छैन क्यारे । उसले त महँगी घटेको देखाएको छ । तपाईं चैं राबैंक विरोधी हो र ?
फेरि चाडबाडका बेला अहिले महँगीको कुरा उठाउने समय पनि होइन । किनकि रातो, हरियो, नीलो सबै झण्डावालाहरू चुप छन् भने महँगी कुनै मुद्दा नै होइन । जब देश र जनताका हितका लागि भनेर खुलेका राजनीतिक पसलहरूले महँगीबारे कुनै कुरा निकालेका छैनन् भने महँगी पक्कै भ्रम हो । आखिर, देशलाई नेताहरूभन्दा राम्रो बुझ्ने तपाईं हामी को हौं र ? त्यसैले बिर्सनुस् अब यो महँगी भन्ने चिजलाई ।
फेरि नेपाली जनता भनेका आडम्बरयुक्त खरिददारीका नमूना पात्र हुन् रे । जति महँगो भयो, उति हारालुछ गर्ने खरिदकर्ता क्या ! अंग्रेजीमा यसलाई ‘कन्पिक्युअस कन्जम्प्सन’ भन्छन् । नेपालीले अरू अर्थशास्त्रका सिद्धान्त नमाने पनि यो सिद्धान्त भने हुबहु लागू गरेका छन् है ।
त्यसैले त मैले शुरूमै भनेँ नि, महँगी एक भ्रम हो भनेर । डोरीलाई सर्प ठानेर तर्सनु त भएन नि हो ।