काठमाडौं । गत मंसिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि दर) बढेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रवार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार गत महीना यस्तो मुद्रास्फीति ६.०५ प्रतिशत छ । गत वर्षको मंसिरमा भने यस्तो मुद्रास्फीति ४.९५ प्रतिशत थियो ।
समीक्षा महीनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति बढेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति घटेको छ । गत मंसिरमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.९९ प्रतिशत छ । गत वर्षको मंसिरमा यस्तो मुद्रास्फीति ५ प्रतिशत थियो ।
गत महीना गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९२ प्रतिशत कायम भएको छ । गत वर्षको मंसिरमा उक्त समूहको मुद्रास्फीति ४.९२ प्रतिशत थियो ।
समीक्षा महीनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४३.०५ प्रतिशत, दाल तथा गेडागुडीको १०.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.७० प्रतिशत र घ्यू तथा तेलको ९.३९ प्रतिशतले बढेको छ । यस्तै, मरमसला उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.१८ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको ०.८३ प्रतिशतले घटेको छ ।
गैर-खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ७.९८ प्रतिशत, मदिराजन्य पेय पदार्थको ७.०१ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.७५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले बढेको छ ।
समीक्षा महीनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६.५२ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.८९ प्रतिशतले बढेको छ ।
कुन प्रदेशमा कति ?
प्रदेशगत रूपमा सबैभन्दा बढी मूल्यवृद्धि दर कोशी प्रदेशमा रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा छ । समीक्षा महीनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३६ प्रतिशत, मधेश प्रदेशको ६.७७ प्रतिशत, सुदूरपश्चिम प्रदेशको ६.६६ प्रतिशत, बागमती प्रदेशको ५.८४ प्रतिशत, लुम्बिनी प्रदेशको ५.५३ प्रतिशत, गण्डकी प्रदेशको ४.८१ प्रतिशत र कर्णाली प्रदेशको ४.१९ प्रतिशत रहेको छ ।
समीक्षा महीनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.८२ प्रतिशत, तराईको ६.३१ प्रतिशत, पहाडको ५.६५ प्रतिशत र हिमालको ६.५८ प्रतिशत रहेको छ ।
के हो उपभोक्ता मुद्रास्फीति ?
उपभोक्ता मुद्रास्फीति भन्नाले आम उपभोक्ताले उपभोग गर्ने वस्तु तथा सेवाको औसत मूल्यमा भएको वृद्धिलाई बुझाउँछ । मुद्रास्फीतिले कुनै एक वस्तु वा सेवामा भएको मूल्यवृद्धिको नभई समग्र वस्तु तथा सेवाको औसत मूल्यमा आएको परिवर्तनको दरलाई देखाउँछ ।
थोक मुद्रास्फीति पनि बढ्यो
गत महीनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.५२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.६३ प्रतिशत थियो ।