विराटनगर। नेपाल सरकारले सुन र चाँदीको आयातमा लाग्ने भन्सारदरमा गरेको कटौतीको पूर्वका दुई औद्योगिक तथा व्यावसायिक संगठनले स्वागत गरेका छन् । मोरङ उद्योग व्यापार संघ र नेपाल उद्योग परिसंघ, कोशी प्रदेशले विज्ञप्ति जारी गर्दै सरकारको उक्त कदमको स्वागत गरेका हुन् ।
उनीहरूले यसअघि नेपालमा सुन र चाँदीको भन्सारदर भारतभन्दा बढी भएकाले घटाउनुपर्ने माग गरेका थिए । भारतीय बजारमा प्रतितोला सुनको भन्सार नेपालको भन्दा ३ हजार रुपैयाँ बराबर सस्तो थियो, जसकारण भारतबाट अवैध बाटो भएर नेपाली बजारमा सुन आउन थालेपछि नेपाली बजारमा भारतीय रुपैयाँको अभाव देखिएको थियो ।
सरकारले सुन आयातमा लाग्ने भन्सारदर २० प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरेको छ भने चाँदीको भन्सारदर १५ प्रतिशतबाट घटाएर १० प्रतिशत निर्धारण गरेको छ । नेपाल उद्योग परिसंघ, कोशी प्रदेश समितिका अध्यक्ष पवन सारडाले आफूहरूले असार–साउनदेखि नै सरकारलाई सुनको भन्सारदर घटाउन आग्रह गरिरहेकोमा अहिले कार्यान्वयन भएको बताए ।
सरकारी निर्णयपछि नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य कमी आएको छ । मोरङ उद्योग व्यापार संघले पनि सो निर्णय सकारात्मक भएको बताएको छ । संघका अध्यक्ष अनुपम राठीले सरकारको निर्णयले सुनचाँदीको अवैध कारोबार अन्त्य हुने विश्वास व्यक्त गरे । साथै, यसले पूँजीको अनधिकृत पलायन समेत नियन्त्रण हुने उनको अपेक्षा छ । परिसंघका अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा मात्र १३० किलो सुन आयात भएको छ, जुन विगत वर्षको तुलनामा धेरै कम हो ।