काठमाडौं । अर्थतन्त्रका बाह्य सूचक सबल भए पनि आन्तरिक आर्थिक गतिविधि चलायमान हुन नसकिरहेका बेला महँगी पनि बढ्न थालेको छ ।
नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको कात्तिकसम्मको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार कात्तिक महीनामा उपभोक्ता मुद्रास्फीति (महँगी दर) ५ दशमलव ६० प्रतिशत पुगेको छ, जुन गत १ वर्षको सबैभन्दा उच्च हो ।
गतवर्ष असोजमा ७ दशमलव ५ प्रतिशत पुगेपछि मुद्रास्फीति घट्न थालेको थियो । गतवर्ष कात्तिकमा महँगीदर ५ दशमलव ३८ प्रतिशत थियो । मुद्रास्फीति गत असारमा घटेर ३ दशमलव ५७ प्रतिशतसम्म कायम भएको थियो । चालू आर्थिक वर्ष (आव) साउनयता भने यो लगातार बढिरहेको राष्ट्र बैंकले जनाएको छ । गत असोजमा बाढीपहिरोबाट बालीनाली तथा बाटोघाटोमा व्यापक क्षति पुगेपछि मूल्यवृद्धि उकालिएको हो ।
चालू वर्षको कात्तिकमा खाद्य तथा पेय पदार्थको मूल्य बढ्दा समग्र मुद्रास्फीतिमा दबाब बढेको हो । कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९ दशमलव १० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ६५ प्रतिशत छ । अघिल्लो वर्ष यही अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ५ दशमलव ९८ प्रतिशत र सेवा समूहको ४ दशमलव ९९ प्रतिशत थियो ।
खाद्य तथा पेय पदार्थ समूहमा पनि सबैभन्दा धेरै तरकारी महँगो भएको छ । तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३३ दशमलव ९९ प्रतिशत, दाल तथा गेडागुडीको १० दशमलव ७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १० दशमलव १५ प्रतिशत र घिउ तथा तेलको ९ दशमलव २९ प्रतिशतले बढेको छ । यस अवधिमा मसला उपमूहको १ दशमलव ४१ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको १ दशमलव २८ प्रतिशत र माछा तथा मासुको शून्य दशमलव शून्य २ प्रतिशतले घटेको राष्ट्र बैंकले बताएको छ ।
बाह्य सूचक थप बलियो
राष्ट्र बैंकका अनुसार चालू आवको कात्तिकसम्ममा चालू खाता, शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चितिजस्ता अर्थतन्त्रका बाह्य सूचकहरू थप बलियो बनेका छन् ।
कात्तिकसम्ममा चालू खाता १ खर्ब ४३ अर्ब ४२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ९७ अर्ब १० करोड रुपैयाँले बचतमा थियो । यसैगरी अघिल्लो वर्ष कात्तिकसम्ममा १ खर्ब ५० अर्ब २४ करोड रुपैयाँ रहेको शोधनान्तर बचत यसपालि कात्तिक हुँदा २ खर्ब ५ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । चालू आवको कात्तिकसम्ममा विप्रेषण आप्रवाह ९ दशमलव १ प्रतिशतले बढेर ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ (३ अर्ब ८७ करोड अमेरिकी डलर) पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव ५ प्रतिशतले बढेको थियो ।
२०८१ असारमा २० खर्ब ४१ अर्ब १० करोड (१५ अर्ब २७ करोड अमेरिकी डलर) बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पनि १० दशमलव ५ प्रतिशतले वृद्धि भई २०८१ कात्तिकमा २२ खर्ब ५५ अर्ब ३५ करोड (१६ अर्ब ७० करोड अमेरिकी डलर) पुगेको छ । आव २०८१/८२ को ४ महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १८ महीनाको वस्तु र १५ दशमलव १ महीनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले बताएको छ ।
कात्तिकसम्ममा बैंक, वित्तीय संस्थाहरूको निक्षेप १ खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँ (२ दशमलव ३ प्रतिशत)ले बढ्दा कर्जा प्रवाह भने १ खर्ब २८ अर्ब ४७ करोड रुपैयाँ (२ दशमलव ५ प्रतिशत)ले बढेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले कात्तिकसम्ममा निक्षेप संकलन बोलकबोलमार्फत ८ खर्ब ७ अर्ब ३० करोड र स्थायी निक्षेप सुविधामार्फत ९९ खर्ब ६८ अर्ब ६५ करोड गरी कुल १०७ खर्ब ७५ अर्ब ९५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ ।