काठमाडौं। नबिल बैंकले नबिल स्कुल अफ सोसल आन्ट्रप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको पाँचौं समूहका लागि आवेदन खुला गरेको छ । सामाजिक उद्यमशीलताको प्रवर्द्धन गर्ने लक्ष्यसहित शुरू गरिएको यस कार्यक्रममा उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान पुर्याउने सोच भएका व्यक्ति सहभागी हुन सक्नेछन् । इच्छुक व्यक्तिले आगामी चैत २५ गतेसम्म आवेदन दिन सक्ने बताइएको छ ।
त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा सञ्चालन भइरहेको नबिल एसएसई फेलोसिप कार्यक्रम ६ महीनासम्म सञ्चालन हुने बताइएको छ । कार्यक्रममा १८ दिनको नि:शुल्क आवासीय तालीम र एक वर्षको परामर्श कार्यक्रम समावेश छ । यसमार्फत हालसम्म तीनओटा समूहका ५६ उद्यमीले तालीम लिइसकेका छन् । साथै ४५ सामाजिक उद्यममार्फत १ हजार १८४ जनालाई रोजगारी दिइसकिएको बताइएको छ ।
कार्यक्रमअन्तर्गत हाल चौथो समूहका २० उद्यमीले प्रशिक्षण लिइरहेका छन् भने पाँचौं समूहमा पनि देशभरिका आवेदकमध्ये २० जना छनोट हुने बैंकले जानकारी दिएको छ । व्यवसाय शुरू गरिसकेका तथा उद्यमशील सोच भएका व्यक्तिले यस कार्यक्रममा आवेदन दिन सक्ने बताइएको छ । कार्यक्रममा सहभागिताका लागि नबिल स्कुल अफ सोसल आन्ट्रप्रेनरसिपको फेसबुक पेजमा उपलब्ध क्यूआर कोड स्क्यान गरेर आवेदन दिन सकिने बताइएको छ । साथै नबिल बैंकको वेबसाइटबाट फारम डाउनलोड गरी इमेलमार्फत पठाउन पनि सकिनेछ ।