नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करण शुरु

तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करण आजबाट काठमाडौंको भुकृटीमण्डपमा शुरु भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय/व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी)को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा आजबाट मेला शुरु भएको हो । मेला वैशाख २९ गतेसम्म चल्ने छ । 

मेलाको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले निजी क्षेत्रले भने अनुसार नीतिगत सुधारको लागि सरकारले काम गरिरहको उल्लेख गर्दै नेपाली उद्योगी व्यवसायीहरूलाई उत्पादन र उत्पादकत्व वृद्धि गरि निर्यात प्रवर्द्धनमा लाग्न आग्रह गरे । 

उनले नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै उनले सरकारले पनि औद्योगिक विकास, स्वदेशी उत्पादनको बजारीकरण र निर्यात प्रवद्र्धनका लागि विभिन्न नीतिगत सुधार र सहजीकरणका प्रयासहरू गरिरहेको बताए । 

‘हामीले रुग्ण उद्योगहरूको पुनरुत्थान, नयाँ औद्योगिक सम्भावनाहरूको पहिचान र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेका छौं । यो मेलाले यस्ता अवसरहरूको खोजी र सहकार्यका लागि उपयुक्त मञ्च प्रदान गर्नेछ भन्ने मेरो विश्वास छ,’ मन्त्री भण्डारीले भने । 

उनले हालै संसदमा पेश भएको नीति तथा कार्यक्रमममा औद्योगिक विकास तथा निजी क्षेत्र प्रवर्द्धनलाई प्राथकितामा राखिएको बताउँदै देशको आर्थिक विकासमा सरकार निजी क्षेत्रको साथमा रहेको बताए । 

सोही अवसरमा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाली उत्पादनको अन्तरराष्ट्रिय बजार प्रवद्र्धन र मुलुकको आर्थिक विकासमा मेलाले महत्त्वपूर्ण योगदान पुर्याउने बताए । 

मुलुकको अर्थतन्त्र अझै पनि जटिल मोडमा रहेको र बजारमा माग बढ्न नसकेको अवस्थामा आफूहरूले मेला आयोजना गरेर बजारमा सकारात्मक सन्देश दिन खाजेको बताए । ‘मेलाले स्वदेशी तथा विदेशी उद्योगी व्यवसायीहरूबीच व्यापारिक सम्बन्ध विस्तार गर्न, लगानी आकर्षित गर्न, र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने हाम्रो अपेक्षा छ,’ उनले भने । 

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले नेपाली वस्तु निर्यात गर्न क्षमता बढाउनु पर्ने बताए । उनले आउने वर्ष आयोजना गरिने मेलालाई थप प्रभावकारी बनाउन सबै निजि क्षेत्र मिलेर मेला आयोजना गरिने र सो मेला काठमाडौं बाहिर आयोजना गर्दा उपर्युक्त हुने धारणा राखे । 

नेपाल, चीन र बंगलादेशका गरि १२० भन्दा बढी स्टल रहेको मेलामा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट र छलफलले द्विपक्षीय व्यापार र लगानीका अवसरहरूका बारेमा पनि छलफल हुने महासंघका केन्द्रीय सदस्य तथा मेला समितिका सभापति उमेश डालमियाले जानकारी दिए । 

मेलामा थाइल्याण्ड र इजरायलका राजदूत तथा पाकिस्तान, बंगलादेश, अमेरिका, रुस लगायतका नेपालस्थित राजदुतावास  एवं तथा अन्तराष्ट्रिय श्रम संगठनका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।