काठमाडौं । नेपाल र भियतनामबीच व्यापार र लगानी प्रर्वद्धन गर्न सहकार्य गर्ने समझदारी भएको छ । नेपाल चेम्बर अफ कमर्स र भियतनाम नेपाल फ्रेन्डसिप एशोसिएसनबीच दुई पक्षीय लगानी अभिवृद्धि एवं व्यापार सहजीकरण गर्नेबारे समझदारी भएको हो । कृषि, पर्यटन र व्यापार जस्ता प्रमुख क्षेत्रहरूमा सहकार्य बढाउने विषयमा भियतनामका अधिकारीहरूसँग छलफल भएको नेपाल चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा भियतनामी पर्यटक भित्र्याउन आग्रह गरे । भियतनामका बहुसंख्यक बुद्ध धर्मावलम्बीलाई नेपालको भ्रमण गराएर पर्यटन प्रर्वद्धन गर्नुपर्ने भन्दै अध्यक्ष अग्रवालले यसका लागि सहजीकरण गर्न चेम्बर तयार रहेको बताए ।
कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रमा लगानीका लागि समेत उनले भियतनामका प्रतिनिधिसमक्ष आग्रह गरे । अध्यक्ष अग्रवालले भने, ‘नेपाल लगानीको दृष्टिकोणले उत्कृष्ट गन्तव्य हो, लगानीको प्रतिफल सुनिश्चित गर्न चेम्बर अफ कमर्स प्रतिवद्ध छ ।’
नेपालको कृषि विकासमा सहयोग एवं खाद्य सुरक्षा अभिवृद्धि र आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने उद्देश्यले भियतनामसँग सहकार्य गर्न चाहेको अध्यक्ष अग्रवालको भनाई छ ।
चेम्बर पदाधिकारीसँगको भेटवार्तामा भियतनाम नेपाल फ्रेन्डसिप एशोसिएसनका अध्यक्ष ट्रान अन्ह तुवानले नेपालको प्राकृतिक सुन्दरताले आफूलाई निकै लोभ्याएको बताए । नेपालसँग सहकार्य गर्न आफूहरू तयार रहेको र लगानीका क्षेत्रहरू खोज्नुपर्नेमा उनले जोड दिए ।