काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा उल्लेख्य वृद्धि भएको छ ।
गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १४ करोड ९७ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर रू. ४९ करोड ७७ लाख पुगेको हो । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवमा कम्पनीले जम्मा आम्दानी रू. ५१ करोड १८ लाख रहेकोमा चालू आवमा बढेर रू. १ अर्बभन्दा बढी पुगेको छ ।
दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ७२ करोड ५४ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले रू. ६८ करोड १७ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आवको तुलनामा चालू आवमा कम्पनीको कुल बीमा शुल्क आर्जन ६ दशमलव ४१ प्रतिशतले वृद्धि भएको हो ।
चुक्ता पूँजी रू. १ अर्ब ६४ करोड रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा जगेडामा रू. २२ करोड ३२ लाख, स्पेशल रिर्जभमा रू. १ अर्ब २७ करोड र महाविपत्ति कोषमा रू. ८ करोड ९० लाख सञ्चिति गरेको छ ।
नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ४ पैसा रहेकोमा चालू आवमा बढेर ६० रुपैयाँ ५५ पैसा पुगेको हो । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात १५ दशमलव ३६ गुणा र प्रतिशेयर नेटवर्थ २ सय ६ रुपैयाँ १४ पैसा छ ।