काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल फाइनान्सको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशत वृद्धि भएको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार १५४ पुगेको छ । यो हालसम्मकै उच्च हो ।
कम्पनीको शेयर मूल्य लगातार १० कारोबार दिनदेखि बढिरहेको छ ।
जानकारहरूका अनुसार कम्पनीको शेयर मूल्य बढ्नुको कारण कम शेयर संख्या हो । कम्पनीको कुल ८३ लाख ८९ हजार ४३९ कित्ता सूचीकृत छ, जसमध्ये सर्वसाधारणतर्फ ३३ लाख ५५ हजार ७७५ कित्ता शेयर छ ।
पछिल्लो समय लगानीकर्ताको आकर्षण कम शेयर संख्या भएका कम्पनीको शेयरमा देखिन्छ । शेयर सख्या कम हुँदा बजारमा आपूर्ति कम हुने र माग उच्च हुने भएकाले शेयर मूल्य बढ्ने जानकार बताउँछन् ।
पछिल्लो एक वर्षमा यस कम्पनीको शेयर मूल्य न्यून विन्दु कायम हुँदा प्रतिकित्ता रू. २७० मा झरेको थियो । यस आधारमा यस कम्पनीका शेयरधनीले आकर्षक प्रतिफल प्राप्त गरेका छन् । तर, यस कम्पनीले आफ्ना शेयरधनीलाई आर्थिक वर्ष ०६७/६८ यता लाभांश वितरण गरेको छैन । कम्पनीले आर्थिक वर्ष ०६७/६८ मा २२ प्रतिशत बोनस शेयर र १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छैन । तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको नाफा रू. १३ लाख १८ हजार छ ।