काठमाडौं। राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक एवं नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील पौडेलमाथि अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदार कम्पनीसँग मिलेर अनियमितता गरेको अभियोगमा बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार १२ करोड ४२ लाख ८० हजार रुपैयाँ बराबरको सामान खरीद गर्दा पौडेलले तीन करोड आठ लाख ५० हजार चार सय रुपैयाँ घुस लिएको पाइएको छ । सोही प्रकरणमा आपूर्तिकर्ता कम्पनी एक्टर्स कम्प्युटर्स नेपाल प्रालिका सञ्चालक दीपक आनन्दलाई पनि प्रतिवादी बनाइएको छ ।
पौडेलले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यरत रहँदा सेक्युरिटी अप्लायन्सेस तथा नेटवर्क इक्वीपमेन्ट खरीद गर्दा आपूर्तिकर्तासँग मिलेर स्पेसिफिकेसन तयार पारेको आयोगको ठहर छ, जसअनुसार उक्त कम्पनी मात्र छनोट हुने गरी बोलपत्र प्रक्रिया सञ्चालन गरिएको थियो । लागत अनुमानभन्दा एक प्रतिशत कम मूल्यमा ठेक्का दिइएको र भुक्तानी प्रक्रियासम्म पौडेलको प्रत्यक्ष संलग्नता रहेको अख्तियारले जनाएको छ । घुसको रकम अमेरिका र भारतका बैंक खातामा जम्मा गरिएको प्रमाण फेला परेको आयोगको दाबी छ । साथै, पौडेलको मोबाइल तथा ल्यापटपबाट गरिएको प्राविधिक परीक्षणमा शुरूदेखि नै ठेक्का सेटिङ र घुस लेनदेनसम्बन्धी कुराकानी भएको देखिएको आयोगले जनाएको छ । ह्वाट्सएप तथा इमेल संवादसमेत प्रमाणको रूपमा समावेश गरिएको छ । हाल डिल्लीबजार कारागारमा रहेका पौडेलविरुद्ध यसअघि पनि भ्रष्टाचारका आरोपमा मुद्दा दायर भएका थिए । केही प्रकरणमा उनी दोषी ठहर भइसकेका छन् ।