राष्ट्रिय जनगणना २०६८ को तथ्यांक हेर्दा नेपाली पुरुषलाई बधाई दिए हुने भएको छ । किनभने सय महिलामा पुरुष भने केवल ९४ जनामात्रै रहेछन् । यसको मतलब बिहे गर्न चाहने हरेक वयस्क पुरुषका लागि कुरो मिलेमा बिहे गर्न भारतमा जस्तो महिला अपुग नहुने रहेछ ।
दोस्रो, नेपालले भारततिर अरू केही निर्यात गर्न नसके पनि अब महिला निर्यात गर्नुपर्छ भन्ने उपबुज्रुक तर्क कसैले उठायो भने त्यो तर्कसङ्गत भएको प्रमाणित गर्न अब तथ्यांक उपलब्ध भयो । अहिले कोरिया तथा खाडी मुलुकमा समेत सरकारले नै नेपाली पुरुष तथा महिला निर्यात गरी नै रहेको छ । भारततर्फ पनि एक किसिमले यस्तो निर्यात भइरहेको छ । अब त्यसतर्फ पनि सरकारी तहमै लैजाने तयारी शुरू हुन सक्छ । यसले नेपाल भारत व्यापार घाटा कम गर्न ठूलै मद्दत पुग्ने तर्क पक्कै उठ्नेछ ।
नेपालमा जातिहरूको संख्या पनि सयबाट बढेर १ सय २५ पुगेछ । त्यसैले अब सयौं थुङ्गा फूलका हामीको राष्ट्रिय गान फेरेर १ सय २५ फूलका हामी भनेर बनाउनु पर्ने भएछ । सबैभन्दा चाखलाग्दो कुरा त जनसंख्या वृद्धिदर घटेर १ दशमलव ३५ प्रतिशतमा आएको छ । यसको अर्थ जन्मदर पनि पक्कै घटेको छ ।
(तीतोमीठोबाट) वर्ष ८, अंक ७२, शुक्रवार १४ मङ्सिर, २०६९