काठमाडौं । नेपालको आतिथ्य उद्योगमा नेतृत्व विकासलाई तीव्रता दिन अमेरिका स्थित प्रख्यात नेतृत्व विकास संस्था इम्प्याक्ट एस र रामदा एन्कोर काठमाडौंबीच सहकार्य सम्झौता भएको छ।
यस सहकार्यअन्तर्गत आतिथ्य क्षेत्रमा कार्यरतहरूलाई अन्तर्राष्ट्रिय स्तरको नेतृत्व प्रशिक्षण, व्यवहारिक मूल्याङ्कन र उद्यमशीलता विकास कार्यक्रमहरू उपलब्ध गराइने भएको छ ।
इम्प्याक्ट एसले आफ्ना नवीन प्रविधिहरू: प्याक्टोमिक्स (व्यवहारिक मनोविज्ञानमा आधारित मूल्याङ्कन प्रणाली) र लेम फ्रेमवर्क (नेतृत्व, उद्यमशीलता र बजार विज्ञानमा आधारित अभ्यास प्रणाली) नेपाली आतिथ्य क्षेत्रमा कार्यान्वयनमा ल्याउने जनाइएको छ । यसले होटल, रेस्टुरेन्ट, र पर्यटन क्षेत्रका कर्मचारी तथा व्यवस्थापकहरूलाई सशक्त बनाउँदै सेवा गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।
सहकार्य सम्झौताका लागि आयोजित कार्यक्रममा बोल्दै रामदा एन्कोर काठमाडौंका प्रबन्ध निर्देशक महेश श्रेष्ठले भने, "आतिथ्यको मूल आत्मा भनेको मानवीय सम्बन्ध हो। यो सहकार्यले हाम्रो टोलीलाई अझ प्रभावशाली र जिम्मेवार नेतृत्वकर्ताका रूपमा विकास गर्न सहयोग पुर्याउनेछ।"
इम्प्याक्ट एसका सह-संस्थापक कोविद पन्थीले भविष्यको नेतृत्वमा सहानुभूति र अनुकूलनशीलता अत्यावश्यक हुने बताए । 'यो सहकार्यले नेपाली आतिथ्य पेशेवरहरूलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ,' उनले भने ।
इम्प्याक्ट एसका अर्का सह-संस्थापक प्रकाश बाडेनले साझेदारीले रामदा एन्कोरको सेवा दृष्टिकोणलाई अझ सुदृढ बनाउनेछ र ब्रान्ड प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने विश्वास व्यक्त गरे ।
इम्प्याक्ट एसले श्रीलङ्का र संयुक्त अरब इमिरेट्समा पनि यस्ता कार्यक्रमहरू विस्तार गर्ने योजना बनाएको बताइएको छ । रामदा एन्कोर काठमाडौंले उच्चस्तरीय होटल सेवा, बहुउपयोगी कार्यक्रमस्थल (मल्टीपर्पस इभेन्ट स्पेस), र आधुनिक फिटनेस केन्द्र जस्ता सुविधा नेपालमा स्थापना गरिरहेको छ।