काठमाडौं। नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेशनले भेन्यूको सबैभन्दा अफोडेबल भेरियन्ट ‘भेन्यू ई’को उत्पादन शुरू गरेको छ । कर्पोरेशनले २०२४ मेबाट ‘भेन्यू एस र एसएक्स’ उत्पादन शुरू गरेको थियो । लक्ष्मी मोटर कर्पोरेशन, नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको एक भगिनी संस्था हो ।
कम्पनीले नेपालमा हुन्डाई भेन्यूको व्यवसायिक उत्पादन शुरू गरेसँगै ‘हुन्डाई नेपाल मेड फर जर्नी’ क्याम्पेन पनि शुरू गरेको थियो । हालसम्म करीब २५० भेन्यू गाडी विक्री भएको बताइएको छ । हुन्डाई भेन्यू ईको प्रारम्भिक मूल्य सिमित अवधिको लागि ४० लाख ९६ हजार रुपैयाँ कायम गरिएको बताइएको छ । यद्यपि यसमा हाल चलिरहेको दशैं, तिहार लक्षित योजना र थप डिस्काउन्ट नहुने कम्पनीले जानकारी दिएको छ ।
हाल नेपालमा उपलब्ध भेन्यूको अन्य भेरियन्टको मूल्य भेन्यू एस १ दशमलव २ लिटरको ४४ लाख ९६ हजार रुपैयाँ र भेन्यू एसएक्स १ दशमलव २ को मूल्य ५३ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ । कम्पनीले ‘मेड इन नेपाल हुन्डाई भेन्यू’मा १० वर्षको नि:शुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । लक्ष्मी मोटर कर्पोरेशन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । चाँडै कम्पनीले थप भेरिएन्ट र अन्य मोडेल पनि उत्पादन गर्दै जाने योजना सार्वजनिक गरेको छ ।