काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ४ दशमलव ५७ प्रतिशत बढेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ६२३ दशमलव ५६ विन्दुमा पुगेको हो । आज नेप्सेसँगै कारोबार रकम पनि वृद्धि भएको छ । अघिल्लो कारोबार दिन (सोमवार) रू. ३ अर्ब ७१ करोड बराबरको कारोबार भएकोमा आज रू. ७ अर्ब ६१ करोडभन्दा बढीको कारोबार भएको हो ।
बजार बढ्दा वित्त समूहका कम्पनीहरूको शेयरमा लगानीकर्ताको आकर्षण परेको छ । यस समूहको सूचक सबैभन्दा बढी ९ दशमलव ७४ प्रतिशत वृद्धि भएको छ । यस समूहको अधिकांश कम्पनीको शेयर मूल्य सर्किट लेबलमा वृद्धि भएसँगै समूहगत सूचक बढेको हो ।
बजारले करेक्सन चरण सकिएको संकेत गरेको छ । करेक्सन चरण सकिएमा नेप्सेले गति लिने जानकार बताउँछन् । निरन्तर घटेको बजारमा कम्पनीहरूको शेयर मूल्य निकै तल्लो विन्दुमा झरेको थियो । यस कारण पनि खरीदकर्ता आकर्षित भएको अनुमान लगाउन सकिन्छ ।
शेयर मूल्य तल्लो विन्दुमा आएपछि यसअघि प्रोफिट बुक गरेकाहरू अब विस्तारै खरीद गर्नेतर्फ सक्रिय हुन सक्ने देखिएको छ । क्रेताहरू सक्रिय हुन थालेपछि भने बजारले गति लिन सक्नेछ ।
यस दिन सेन्सेटिभ इन्डेक्स ४ दशमलव ३१ प्रतिशत, फ्लोट इन्डेक्स ४ दशमलव ६० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ४ दशमलव ७४ प्रतिशत वृद्धि भएको छ ।
३०७ धितोपत्रको १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर ९६ हजार ९०६ पटकमा रू. ७ अर्ब ६१ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये १८ धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ ।
बुटवल पावर कम्पनी, गोर्खाज फाइनान्स, गुडवील फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, आईसी एफसी फाइनान्स र प्रोग्रेशिभ फाइनान्सको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएको हो । त्यस्तै मल्टीपर्पस फाइनान्स, रिलायन्स फाइनान्स, अरुण काबेली पावर, दोदी खोला जलविद्युत कम्पनी, इस्टर्न हाइड्रोपावर, सिटी होटल, थ्री स्टार हाइड्रोपावर र नेपाल वेयर हाउजिङ्ग कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ ।
मंगलवार एनएमबी फिप्टीको इकाई मूल्य ३ दशमलव ८६ प्रतिशत घटेको छ । यससँगै इकाई मूल्य रू. ९ दशमलव ७२ मा झरेको छ । त्यस्तै कामना सेवा विकास बैंकको ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेञ्चर २०८७ नामक ऋणपत्रको मूल्य ३ दशमलव ८२ प्रतिशत घटेर रू. १ हजार ३१ कायम भएको छ ।
यससँगै शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा एनएलजी इन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. २८ करोड ८२ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ३३५ कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा हिमालयन रिइन्स्योरेन्स कम्पनी छ । कम्पनीको रू. २३ करोड ५१ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
यस दिन कारोबारमा आएका १३ ओटै समूहगत सूचक बढेका छन् । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी ९ दशमलव ७४ प्रतिशत वृद्धि भएको छ । त्यस्तै लगानी समूहको ६ दशमलव १० प्रतिशत, जलविद्युत् समूहको सूचक ५ दशमलव ९८ प्रतिशत र विकास बैंक समूहको सूचक ५ दशमलव ४८ प्रतिशत वृद्धि भएको छ ।