काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको पूँजी संरचना परिवर्तनपछि कायम हुने शेयरको अभिलेख गरेको छ ।
नेप्सेले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को दफा ३८ को ‘लक–इन’सम्बन्धी व्यवस्था पूर्णरूपमा पालना हुने शर्तसहित कम्पनीको शेयर अभिलेख गरेको जानकारी दिएको हो ।
नेप्सेमा सूचीकृत ४ करोड १८ लाख ४० हजार कित्ता शेयरमध्ये परिवर्तित पूँजी संरचनापछि कायम भएको संस्थापकतर्फको २ करोड १३ लाख ३८ हजार ४०० कित्ता र सर्वसाधारणतर्फको २ करोड ५ लाख १ हजार ६०० कित्ता अभिलेख गरिएको जानकारी नेप्सेले दिएको छ ।
कम्पनीको पूँजी संरचनामा संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत कायम भएको हो । साविक सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स समान हैसियतमा मर्ज भएका हुन् । मर्जपछि यी दुई कम्पनीले २०७९ चैत ९ गतेबाट एकीकृत कारोबार शुरु गरेका हुन् ।