काठमाडौं । शेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार मंगलवार (आज) नेप्से परिसूचक ९.९६ अंकले घटेर २ हजार ६८८.३२ अंकमा झरेको हो ।
नेप्से परिसूचक गत आइतवारदेखि ओरालो लागेको छ । गत आइतवार १६.६८ अंकले घटेको नेप्से परिसूचक सोमवार ७.७५ अंकले घटेको थियो ।
नेप्से परिसूचकसँगै आज शेयर कारोबार घटेको छ । अघिल्लो दिन ८ अर्ब ७७ करोडभन्दा बढीको कारोबार भएकोमा आज ८ अर्ब ३२ करोडको कारोबार भएको हो, जुन अघिल्लो दिनभन्दा ४५ करोडले कम हो ।
आजको शेयर कारोबारको आधारमा बनेको मैनबत्ती चित्र रातो ‘च्याम्पटी’ आकारको छ । अघिल्लो दिन पनि यही आकारको मैनबत्ती चित्र बनेको थियो ।
आजको मैनबत्ती चित्रका आधारमा आगामी दिनमा बजारले सपोर्ट पाउने संकेत गरेको छ । शेयर कारोबार पनि अघिल्लो दिनकै हाराहारीमा भएकाले आगामी दिनमा बजारले सपोर्ट पाउने सक्ने जानकार बताउँछन् ।
आज ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १६० को घटेको छ । एक कम्पनीको भने शेयर मूल्य स्थिर छ ।
यस दिन १३ ओटा समूहगत सूचकमध्ये ३ ओटाको परिसूचक बढेको छ । तीमध्ये अन्य समूहको सूचक सर्वाधिक २.२१ प्रतिशत बढेको छ । दुई ठूला कम्पनी नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्य बढ्दा समग्र सूचक बढेको हो ।
यस्तै, १० ओटा समूहको सूचक भने घटेको छ, जसमा लगानी समूहको सूचक सर्वाधिक १.८७ प्रतिशत घटेको छ ।
आज नेपाल माइक्रो इन्स्योरेन्सको शेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । यस्तै, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको शेयर मूल्य ९.९८ प्रतिशत बढेको छ । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशत घटेको छ ।
आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा ङादी ग्रुप पावर लिमिटेड छ । यस कम्पनीको ४४ करोड ६० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो ।