काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो त्रैमास (साउन–असोज) मा निर्जीवन बीमा कम्पनीको व्यवसाय ९ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार लघुबाहेकका १४ ओटा निर्जीवन बीमा कम्पनीले चालू आवको असोजसम्ममा ११ अर्ब ३८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । गत आवको यही अवधिमा १० अर्ब ४४ करोड संकलन गरेकोमा यस वर्ष ९ दशमलव शून्य २ प्रतिशतले बढेको छ ।
निर्जीवन बीमा कम्पनीहरूको बीमाशुल्क संकलन वृद्धि भए पनि जारी बीमालेखको संख्या भने घटेको छ । गत आवको असोजसम्ममा उनीहरूले ६ लाख ८१ हजार ४६४ ओटा बीमालेख जारी गरेकोमा यस वर्ष ६ लाख ६८ हजार १४० ओटामा झरेको छ ।
बैंक, वित्तीय संस्थाहरूबाट कर्जा प्रवाह बढ्न थालेपछि निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा सुधार देखिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको भदौसम्ममा बैंक, वित्तीय संस्थाको कर्जा प्रवाह १ दशमलव ४ प्रतिशतले बढेको छ । गत आवको यसै अवधिमा बैंकहरूको कर्जा प्रवाह शून्य दशमलव ७ प्रतिशतले मात्र बढेको थियो । जीवन बीमा कम्पनीहरूको व्यवसाय शशून्य दशमलव ६८ प्रतिशतले मात्र वृद्धि भएको तथ्यांक प्राधिकरणले आइतवार सार्वजनिक गरेको थियो । पछिल्लो समय तरलता वृद्धि भएपछि बैंकहरूको ब्याजदर पनि घटिरहेको छ । फलस्वरूप कर्जा प्रवाह वृद्धि हुन थालेको छ ।
सरकारले तेस्रो पक्ष बीमालाई अनिवार्य गरेको छ । यसबाहेक बैंक, वित्तीय संस्थाहरूले कर्जा प्रवाह गर्दा धितो राख्ने सम्पत्ति र कर्जा प्रयोग हुने परियोजनामा बीमा अनिवार्य शर्त हुन्छ, जसले गर्दा बैंकको कर्जा प्रवाह वृद्धि हुँदा निर्जीवन बीमाको पनि व्यवसाय बढ्ने गरेको छ । नेपाल बीमक संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री आर्थिक गतिविधि वृद्धिसँगै बीमा व्यवसायमा पनि सुधार आउने बताउँछन् । ‘यस वर्ष बैंकको ब्याजदर घटेको छ, कर्जा बढेको छ,’ उनले भने, ‘आर्थिक गतिविधि बढ्दै जाँदा बीमा कम्पनीको व्यवसाय पनि सकारात्मक बन्दै गएको छ ।’
चालू आवको असोजसम्ममा सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ४३ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । यसैगरी सबैभन्दा कम नेशनल इन्स्योरेन्सले ४१ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ ।
गतवर्षको तुलनामा यस वर्षको पहिलो त्रैमासिकमा सबैभन्दा बढी नेपाल इन्स्योरेन्सको बीमाशुल्क संकलन ६३ दशमलव ७८ प्रतिशतले बढेको छ । यस्तै प्रभु, हिमालयन एभरेष्ट, युनाइटेड अजोड र सानिमा जीआईसीको बीमाशुल्क गतवर्षको तुलनामा घटेको छ । लघु निर्जीवन बीमा कम्पनीहरूले चालू आवको असोजसम्ममा ६९ हजार ७९० ओटा बीमालेख जारी गर्दै १८ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क उठाएका छन् । गतवर्षको यसै अवधिमा २ हजार ९७२ ओटा बीमालेख जारी गरी उनीहरूले ९१ लाख ८९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । हाल नेपाल, प्रोटेक्टिभ र स्टार माइक्रो गरी तीनओटा कम्पनीले निर्जीवन लघुबीमा व्यवसाय गर्दै आएका छन् ।