काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महीनामा बीमा कम्पनीहरूको व्यवसायमा सामान्य गिरावट देखिएको छ ।
साउन महीनामा निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा सामान्य वृद्धि भएपनि जीवन बीमालेख नविकरण घट्दा सग्रग बीमा व्यवसाय नकारात्मक भएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार गत आवको साउन महीनामा निर्जीवन र जीवन बीमा कम्पनीहरूले कुल २३ अर्ब ५९ करोड रुपैयाँ बराबरको बीमा शुल्क उठाएका थिए । तर, चालू आवको साउनमा भने बीमा शुल्क आर्जन २ दशमलव ९९ प्रतिशतले घटेर २२ अर्ब ८८ करोड रुपैयाँमा सिमित भएको छ ।
गत आवको तुलनामा जीवन बीमा कम्पनीहरूको व्यवसाय ५ दशमलव २६ प्रतिशतले खुम्चिएको छ । गत आवको साउनमा कम्पनीहरूले बीमालेख विक्री तथा नविकरणबाट १९ अर्ब ६० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेकोमा चालू आवमा १८ अर्ब ५७ करोड रुपैयाँमा झरेको छ ।
जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन बढेपनि नविकरण गर्नेको संख्या घट्दा बीमा शुल्क आर्जन प्रभावित भएको छ । गत आवको साउनमा बीमा कम्पनीहरूले २ अर्ब २९ करोड प्रथम बीमा शुल्क उठाएकोमा यस वर्ष २ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । तर, नवीकरण बीमाशुल्क भने १७ अर्ब ३० करोड रुपैयाँबाट घटेर १५ अर्ब ७३ करोड रुपैयाँमा झरेको छ ।
जीवन बीमालेख व्यतित गर्ने तथा सरेन्डर गर्नेको संख्या बढेसँगै कम्पनीहरूको व्यवसाय प्रभावित बनेको हो । २०८१ साउनमा एक करोड ३७ लाख ओटा बीमालेख सक्रिय छन् । २०८० साउनमा कुल सक्रिय बीमालेख संख्या एक करोड ४० लाख ओटा थियो ।
यसैगरी गत आवको साउनको तुलनामा चालु आवको साउनमा निर्जीवन बीमा कम्पनीहरूको ब्यवसाय ८ दशमलव १७ प्रतिशतले वृद्धि भएको छ । गत आवको साउनमा ३ अर्ब ९८ करोड बीमा शुल्क आर्जन गरेकोमा यस वर्ष बढेर ४ अर्ब ३१ करोड रुपैयाँ पुगेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणमा प्रवक्ता सुुशीलदेव सुवेदी जीवन बीमा लेख नविकरण नहुँदा व्यवसाय वृद्धिमा केही कमी देखिएको बताउँछन् । ‘प्रथम बीमाशुल्क संकलनलाई तुलना गर्दा बीमा व्यवसायको वृद्धि सकारात्मक छ’ उनले भने, ‘नविकरण कम भएकाले केही घटेको देखिएको हो ।’ हाल १४ ओटा निर्जीवन बीमा, १४ ओटा जीवन बीमा, ३ ओटा लघु जीवन बीमा र ४ ओटा लघु निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् ।