चालू् आर्थिक वर्षमा सरकारबाट पाउनुपर्ने करीब रू. १० अर्ब निर्माण व्यवसायीले पाउन सकेका छैनन् । सम्पन्न भइसकेको कामको समेत भुक्तानी नपाएकाले बाँकी काम रोक्नुपर्ने अवस्था आएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष जयराज लामिछानेले अभियानलाई बताए । ‘कात्तिकदेखि २ सयभन्दा बढी आयोजनाले सम्पन्न कामको भुक्तानी पाएका छैनन्,’ उनले भने, ‘यसबाट व्यवसायीहरूलाई ठूलो घाटा पर्न गएको छ ।’ यस विषयमा अर्थ मन्त्रालय, कोष तथा लेखा नियन्त्रण कार्यालय र सम्बन्धित मन्त्रालयमा कुरा राखिए पनि सुनुवाइ हुन नसकेको व्यवसायीहरू बताउँछन् ।
नियमत: प्रत्येक महीनाको अन्त्यमा कार्यप्रगतिको आधारमा निर्माण कम्पनीले रकम भुक्तानी पाउनुपर्छ तर सरकारले भइसकेको कामको समेत भुक्तानी नदिएर व्यवसायीलाई मर्कामा पारेको लामिछानेले बताए । ‘रकम नपाएपछि व्यवसायीले आफ्नो खल्तीबाट पैसा झिकेर काम गर्न सक्दैनन्,’ उनले भने, ‘यस्तो अवस्थामा आयोजना समयमै सम्पन्न नभएमा व्यवसायीलाई दोष लगाउन पाइँदैन ।’ अहिले आयोजनामा कार्यरत मजदूरहरूलाई तलब खुवाउनसमेत समस्या परेको व्यवसायीहरू बताउँछन् । ‘समयमै रकम भुक्तानी नपाउँदा पर्न गएको घाटाको क्षतिपूर्ति सरकारले बेहोर्नुपर्छ,’ लामिछानेले भने ।
वर्ष ८, अंक १३३, बुधवार, १७ माघ, २०६९