बितेका चार आर्थिक वर्षमा नेपालले अपेक्षित आर्थिक वृद्धि प्राप्त गर्न सकेको छैन । मुलुकको वार्षिक बजेट परिचालनबाट अर्थतन्त्रमा हुन सक्ने वृद्धिलाई अनुमान गरेर वार्षिक आर्थिक वृद्धिदरको प्रक्षेपण गरिएको हुन्छ । प्रक्षेपणअनुसार आर्थिक वृद्धि नहुनुको कारण सरकारबाट बजेटको सही परिचालन हुन सकेन भन्ने बुझिन्छ । नेपालको आर्थिक वृद्धिको आधार अझै पनि कृषिमा निर्भर छ । बितेको आर्थिक वर्ष कृषि उत्पादन राम्रो भएको हो । तर पनि लक्षित आर्थिक वृद्धि प्राप्त हुन सकेन । यसबाट मुलुकको आर्थिक वृद्धिदर र मूल्यवृद्धिदर बीचको अन्तर निरन्तर बढ्दै गएको छ । आमजनताको बढेको आयले बढ्दो मूल्य धान्न सकिरहेको छैन । आर्थिक वृद्धिभन्दा मूल्यवृद्धि बढी भयो भने विकास ऋणात्मक हुन्छ । नेपाल अहिले त्यही नियति भोगिरहेको छ ।
(सम्पादकीयबाट) वर्ष ८, अंक १, सोमवार १८ भदौ, २०६९