काठमाडौं । शेयर बजार परिसूचक नेप्से लगातार चार दिन घटेको छ । साताको पहिलो कारोबार दिनयता ओरालो यात्रा थालेको नेप्से बुधवार (आज) पनि जारी रह्यो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज नेप्से ३२.३८ अंक घटेर २ हजार ६५५.९४ अंकमा झरेको छ ।
अघिल्लो साताको अन्तिम कारोबार दिन (बिहीवार) २ हजार ७२२.७३ अंकमा बन्द भएको बजार त्यसयता ६६.७९ अंकले घटिसकेको छ ।
आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएकोमा आज ७ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीमै सीमित भएको छ ।
शेयर बजारको कारोबारका आधारमा आज ठूलो शरीर र सानो पुच्छर भएको रातो मैनबत्ती चित्र बनेको छ ।
यसले बलियो गिरावटको दबाब रहेको संकेत गर्छ । साथै यसले कारोबार अवधिभर विक्रेता हाबी भएको र खरीदकर्ताले किन्ने चासो नदेखाएको देखाउँछ ।
गभर्नर नियुक्तिमा ढिलाइलगायत कारणले शेयर बजारमा असर देखिएको कतिपय लगानीकर्ताको बुझाइ छ ।
आज बनेको मैनबत्ती आकृतिले शेयर बजारमा गिरावटको क्रम जारी रहने सम्भावना देखिएको छ । तर, कहिलेकाहीँ सानो उछाल आउन पनि सक्ने जानकार बताउँछन् ।
आज २८ धितोपत्रको मूल्य बढेको छ भने २१७ ओटाको घटेको छ । एकको भने मूल्य स्थिर रहेको छ ।
आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य समान ९.९९ प्रतिशत बढेको छ । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ । यसैगरी, राधि विद्युत कम्पनी लिमिटेडको सर्वाधिक शेयर कारोबार भएको छ ।
यस दिन म्युचुअल फण्ड र उत्पादन तथा प्रशोधन समूहबाहेक सबैको परिसूचक घटेको छ । तीमध्ये विकास बैंक समूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशत घटेको छ ।