इस्लामावाद (पाकिस्तान) । पाकिस्तान प्रशासित कश्मीरमा आटा र बिजुलीको मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र अर्धसैनिक सेनासँगको हिंसात्मक झडपमा चार जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् ।
मृत्यु हुनेमा एकजना प्रहरी अधिकारी रहेको सरकारी अधिकारीले बताएका छन् । बन्दुकको गोली लागेर घाइते भएकामध्ये कम्तीमा दुई जनाको मृत्यु भएको एएफपी समाचार एजेन्सीले पाकिस्तानको संयुक्त सैन्य अस्पतालका एक चिकित्सकलाई उद्धृत गर्दै जनाएको छ ।
आटा र बिजुलीको मूल्यवृद्धिको विरोधमा शुक्रवारदेखि हजारौं मानिस सडकमा उत्रिएका थिए ।
पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले २४ अर्ब पाकिस्तानी रुपैयाँ (८६ मिलियन डलर) अनुदानको प्रस्ताव गरेको एक दिनपछि मंगलवार प्रदर्शनकारीले विरोध प्रदर्शन फिर्ता लिएका छन् । ‘सरकारले हाम्रा सबै माग स्वीकार गरेको छ,’ प्रदर्शनको नेतृत्व गरिरहेका एक कार्यकर्ता शौकत नवाज मिरले भने । उनले हिंसामा मारिएका व्यक्तिका परिवारलाई आर्थिक क्षतिपूर्ति दिन पनि सरकारसँग माग गरेका छन् ।
सप्ताहन्तदेखि हिंसा तीव्र भएपछि त्यहाँ मोबाइल सेवा बन्द गरिएको थियो । यस्तै, विद्यालय, सार्वजनिक यातायात र व्यवसाय पनि बन्द गरिएको थियो ।
हिंसा नियन्त्रणका लागि सरकारी अधिकारीले सोमवार क्षेत्रीय राजधानी मुजफ्फरावादमा ‘रेन्जर’हरू भनेर चिनिने अर्धसैनिक फौज पठाएको थियो ।
प्रदर्शनको फुटेजमा प्रदर्शनकारी र अर्धसैनिक फौजले एकअर्कालाई रडले प्रहार गरेको देखाइएको छ । अर्धसैनिक फौजले प्रदर्शनकारीमाथि गोली चलाएको र अश्रु ग्यास प्रहार गरेको त्यहाँको सञ्चारमाध्यमले जनाएको छ ।
‘रेन्जरहरूले प्रदर्शनकारीहरूमाथि गोली चलाउनु हुँदैनथ्यो । हामीले आफ्नो अधिकार मात्र मागेका थियौं र बदलामा गोली हानेका थियौं,’ ३७ वर्षीय पसले मुहम्मद कासिमले एएफपीलाई भने ।
प्रदर्शन शुरु गर्ने कार्यकर्ता समूह संयुक्त अवामी एक्शन कमिटीले मंगलवार मारिएकालाई सम्मान गर्न ‘कालो दिन’ घोषणा गरेको छ ।
पाकिस्तान प्रशासित कश्मीर एक अर्ध स्वायत्त क्षेत्र हो, जसको आफ्नै क्षेत्रीय सरकार छ । बीबीसी